Monday, February 23, 2015


गोविन्द खत्री
सुर्खेत, १२ फागुन ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) बारे स्थानीय स्थानीय स्तरमा सत्ता पक्षदलका नेता तथा कार्यकर्ताहरु पक्षमा र  विपक्षी दलका नेता कार्यकर्ताहरु विपक्षमा प्रस्तुत भएका छन् ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) बारे विशेषता र जिम्मेवारी विषयमा लगानी बोर्डले सोमबार सुर्खेत सदरमुकाम  वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सभासद् र कार्यकर्ता पक्ष र विपक्षमा प्रस्तुत भएका हुन् । यस अघि आयोजनाका पक्ष र विपक्षमा उभिएका दलका कार्यकर्तादेखि सभासद्हरु आ–आफ्नै पार्टीको धारणा अनुसार प्रस्तुत भए । सुर्खेतका ४, दैलेख २  अछाका १ गरी छलफलमा सहभागी ७ जना सभासद्हरु मध्य कांग्रेस एमालेबाट सभासद् बनेका ६ जना सभासद्हरुले परियोजनाको सम्झौताको पक्षमा धारणा राखेका थिए भने एकीकृत नेकपा माओवादीको कोटाबाट सभासद् बनेकी सीता नेपालीले आफ्नो पार्टीको धारणालाई दोहो¥याइन् । काँग्रेस एमालेका सभासद्हरुले सस्तो र सजिलो हुँदा हुँदै नेपालले बनाउन नसक्ने र अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट बहु राष्ट्रिय कम्पनी जिएमआर लाई दिइएकोले अब कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेपाल सरकारले बनाउनु पथ्र्यो भन्ने कुरामा कसैको दुइ मत रहेन्’ छलफलमा सहभागी मध्यका एक सभासद् दैलेख क्षेत्र नं १ बाट निर्वाचित अम्मर बहादुर थापाले भने,‘नेपालले बनाउने आँट नगरेपछि अन्तराष्ट्रिय टेन्डरबाट सम्झौता भइसक्यो अब राष्ट्रघात भनेर रोकी राख्नु उपयुक्त छैन बरु बढी भन्दा बढी लाभ हुनेगरी कार्यन्वयन अघि बढाउनु पर्छ ।’ छलफलमा सुर्खेतका हृदयराम थानी, तप्तबहादुर बिष्ट, खड्क बिश्वकर्मा, सीता नेपाली, दैलेखका अम्मरबहादुर थापा, लक्ष्मी पोख्रेल र अछाम क्षेत्र नं. २ का भरतबहादुर सावंद सहभागी थिए । पीडिएको बिरोध गर्दै आएका दल मध्य राष्ट्रिय जनमोर्चा नेपाल सुर्खेतका सचिव लालबहादुर नेपालीले परियोजना निर्यातमुखी भएको तथा नेपाललाई लाभ भन्दा घाट बढी भएको तर्क पेश गर्दै अहिलेको पीडिए खारेज गर्नुपर्ने माग गरे । छलफलमा सहभागी मोहन बैध नेतृत्वको नेकपा–माओवादी, नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादी लगायतका कार्यकर्ताहरुले आयोजना कुनै पनि हालतमा कार्यन्वन हुन नदिने जिकिर गरेका छन् ।  साथै छलफलमा सहभागीहरुबाट परियोजनाको पीडिए यथाशक्य सार्बजनिक गर्नुपर्ने माग गरिएको छ ।
परियोजनाको पीडिएको पक्ष र विपक्षमा उभिएपनि आयोजना बनेको खण्डमा प्रभावित जिल्लाले पाउने लाभांस बढाउनुपर्नेमा भने सबै नागरिक तथा सभासद्हरु एक मत भएका छन् ।
छलफलमा सहभागी आयोजना प्रभावित तीन जिल्ला (सुर्खेत, दैलेख र अछाम) का सात जना सभासद् तथा सुर्खेत स्थित राजनैतिक दल र नागरिक समाजले प्रभावित जिल्लाले पाउने लभांस बढाउनुपर्नेमा जोड दिएका हुन् । दैलेख क्षेत्र नं २ बाट निर्वाचित सभासद् लक्ष्मी प्रसाद पोख्रेलले प्रभावित तीन जिल्लाले नेपाल सरकारले पाउने कुल रोयल्टीको ३० प्रतिशत रोयल्टी पाउनुपर्ने माग गरे । उनले २७ प्रशित निशुल्क शेयर मध्ये प्रभावित जिल्लावासीले चाहेको शेयर लिन पाउनुपर्ने र बाँकी शेयर मात्रै अन्य क्षेत्रमा बिक्री गर्नुपर्नेमा जोड दिए । त्यस्तै स्थानीय विद्युतीकरणका लागि निःशुल्क पाउने २ मेगावाट लाई बढाएउन र बढी भन्दा बढी रोयल्टि तथा शेयर प्रभावित जिल्लावासीले पाउनेगरी सरकारसामु एकीकृत रुपमा आवाज उठाउनुपर्ने बताए । सुर्खेत क्षेत्र नं २ बाट निर्वाचित सभासद् हृदयराम थानीले आयोजनाबाट प्रभावित जिल्लाका वासिन्दालाई बढी भन्दा बढी लाभ हुनेगरी अगाढी बढाउनुपर्ने बताए । स्थानीयवासीलाई दिइने भनिएको २ मेगावाट निःशुल्क बिजुली प्रभावित क्षेत्रका जनतालाई घरायशी प्रयोजनका लागि पुग्नेगरी उपलब्ध गराइनुपर्ने बताए । २७ प्रतिशत निशुल्क शेयर मध्ये प्रभावित ३ जिल्लालाई ७ प्रतिशत र बाँकी अन्य जिल्लामा दिनुपर्ने सभासद् थानीले धारणा व्यक्त गरे । आयोजनाबाट प्रभावित र पुनःस्थापना हुने परिवारलाई प्रयाप्त सेवा सुविधा र उनीहरुका माग पूरा गर्न उनले माग गरेका छन् । उनले नेपाल सरकार र कार्यन्वयन कम्पनी जिएम आर बीच भएको सम्झौता दुबै पक्षले इमान्दारीतापूर्वक कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।  अछाम क्षेत्र नं २ का सभासद् भरत सांवदले पनि प्रभावित जिल्लाले पाउने लाभांस बढाउनुपर्नेमा जोड दिएका छन् । निःशुल्क पाउने १०८ मेगावाट विद्युत र २७ प्रतिशत शेयरमा प्रभावित जिल्लालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए । सरकारले पाउने रोयल्टी मध्य प्रभावित जिल्लालाई दिने रोयल्टी बढाउनुपर्ने उनको भनाई छ । दैलेख क्षेत्र नं १ बाट निर्वाचित सभासद् अम्मरबहादुर थापाले पीडिए सम्झौतामा भैसकेकोले अब आयोजनाको पक्ष र विपक्ष भन्दा पनि कसरी स्थानीय जनतालाई बढी भन्दा बढी लाभ हुन्छ भन्ने तरिकाले लाग्नुपर्ने बताए । सुर्खेत क्षेत्र नं ३ बाट निर्वाचित् सभासद् तप्तबहादुर बिष्टले आयोजना निर्माणका क्रममा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकताका साथ रोजगारी दिनुपर्ने बताए । उनले अदक्ष कामदार मात्र नभई आवश्यकता अनुसार कामदारलाई विभिन्न तालिमहरु दिई दक्ष बनाउनुपर्ने उनले माग गरे ।
जिएम आरका प्रतिनिधि डिके सिंहले माथिल्लो कर्णाली आयोजना निर्माणसंगै यहाँको विकास र स्थानीय नागरिकको रोजगारीको अवसर सृजना हुने बताएका छन् । छलफलमा आयोजनाका बारेमा धारणा राख्दै सिंहले आयोजना निर्माणका क्रममा सामान्य अवस्थामा २ देखि ३ हजार अदक्ष कामदारले रोजगारी पाउने बताए । उनले आयोजना प्रभावित क्षेत्रका जनताले पाउने, निशुल्क बिद्युत, शेयर रोयल्टीका साथै उनीहरुको जीवनस्तर उकास्न विभिन्न सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
छलफलका क्रममा लगानी बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले छलफलमा उठेका जिज्ञासाहरु लगानी बोर्डको बैठकमा प्रस्तुत गरिने र सोही अनुसार काम अघि बढाइने बताए ।
कार्यन्वयन कम्पनिले दुई बर्षमा वित्तीय स्रोतको व्यवस्था गर्ने, ५ देखि ८ बर्षभित्र निर्माण कार्य सम्पन्न गरी सन् २०२१ पछि विद्युत उत्पादन सुरु हुने सम्झौतामा उल्लेख छ । परियोजनाबाट नेपालले २७ प्रतिशत निःशुल्क हिस्सा र १२ प्रतिशत निःशुल्क उर्जा पाउनेछ । उक्त परियोजनाबाट १०८ मेगावाट विजुली निःशुल्क पाउने जुन नेपालमा हाल जडीत क्षमताको १५ प्रतिशत हो  ।
परियोजना सञ्चालनबाट कर, दस्तुर, निःशुल्क उर्जा र निःशुल्क हिस्साका आधारमा नेपालका लागि अपेक्षित वित्तीय फाइदा करिव ४ सय ३१ अर्ब हुनेछ । आयोजना सञ्चालनमा आएपछि नेपालले पाउने हिस्साको ५० प्रतिशत राष्ट्रिय ढुकुटी, ३८ प्रतिशत म.प. विकास क्षेत्रमा र १२ प्रतिशत प्रभावित जिल्लाहरु सुर्खेत, अछाम र दैलेखका लागि छुट्याइनेछ । स्थानीय २ हजारबढीले प्रत्यक्ष रुपमा रोजगारी पाउने लगाडी बोर्डको दावि रहेको छ ।
९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न ११६ अर्व लागत लाग्ने जनाइएको छ । आयोजनाका क्रममा ४६.८ हेक्टर नीजि र २३५.७६ हेक्टर सार्वजनिक जग्गा अधिग्रहण गर्नुपर्नेछ । सुर्खेत, दैलेख र अछाम जिल्लाका २ सय ३९ घरपरिवार प्रभावित हुने र ५६ घरपरिवारको पुर्नवास गर्नुपर्ने जनाइएको छ । उक्त परियोजना प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियद्धारा सन् २००८ मा भारतीय कम्पनी जिएमआरलाइ निर्माण जिम्मा दिइएको हो ।

‘खाजा कटाएर प्याड किन्छन् विद्यार्थी’
गोविन्द खत्री
सुर्खेत,  फागुन ।
बाल क्लबमा आबद्ध विद्यार्थीहरुको सक्रियाताले वीरेन्द्रनगर १७ बेलघारीको मक्का मदिना निम्न माध्यमिक विद्यालयमा विद्यार्थीको अनियमितता दर घटेको छ ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बाल क्लब मधिना बाल क्लबले विद्यालयमा विद्यार्थी अनियमित हुनुका कारण पत्ता लगाई विभिन्न अभियान सञ्चालन गरेपछि विद्यार्थी नियमित हुन थालेका हुन् । बाल क्लबका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मासिक पाँच रुपैँया क्लबमा जम्मा गर्छन, जुन पैंसा महिनावारी हुँदा प्रयोग गरिने प्याड किन्न प्रयोग गर्छन् । बिशेषगरी ६–८ कक्षामा अध्ययनरत बालिकाहरु महिनावारी हुँदा विद्यालय नआउने गरेपछि उनीहरुलाई विद्यालयमा नियमित गराउन प्याड वितरण गर्दै आएको बाल क्लबकी सचिव कमला बि.क.ले बताइन् ।  ‘साथीहरु किन नियमित स्कूल आउँदैनन भनेर खोजी गर्दा विद्यालयमै महिनावारी हुने डरले पनि नआउने गरेको पायौँ’ उनले भनीन्,‘बिशेषगरी बालिकाहरुलाई नियमिति गर्न हामीले पाँच रुपैँया उठाएर प्याड किन्ने गरका छौँ ।’ क्लबमा ३५ जना बालबालिका आबद्ध छन् उनीहरु आफूले उठाएको पैँसाले नपुगेमा विद्यालयसंग पनि सहयोग माग्ने गरेका छन् । प्याड वितरण गरेपछि बालिकाहरु महिनावारी भएको बेला पनि विद्यालय आउनुका साथै बिचैमा कक्षा छोडेर जाने समस्या समेत हटेको उनी बताउँछिन् । क्लबले कक्षामा नियमित गराउने मात्र होइन नियमित नहुने विद्यार्थीका घर घरमा पुगेर अभिभावकसंग भेटेर उनीहरु समस्या बुझ्ने गरेका छन् । क्लब र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले एक महिनासम्म विहान ८ देखि १० बजेको समयमा अन्य विद्यार्थीका घरमा गएर अनियमित हुनेलाई पनिसंगै विद्यालय ल्याउने अभियान सञ्चालन गरे ।  ‘सबै साथीहरु सधैँ किन विद्यालय आउदैनन् भनेर पत्ता लगाउनेक्रममा  हामीले कतै घरमा खान समयमा नपाकाइदिएर हो की भनेर उनीहरुका घरघरमा पनि गयौँ’ बाल क्लबकी सचिव कमलाले भनीन्,‘उनीहरुको घरमा गएर आफैले ड्रेस लगाइदिएर संगै स्कुलपनि ल्यायौँ ।’
बाल क्लबले बीचैमा विद्यालय छोडेर घर बसेका आफ्नो समुदायका बालबालिकाहरुको पहिचान गरी विद्यालय भर्ना पनि गराएको छ । मधिना बाल क्लबले बिचैमा विद्यालय छोडेका छ जनालाई चालु शैक्षिक सत्रमा भर्ना गराएको छ । आश्मा खातुन र सयदा दुई बहीनीले नै गत बर्ष विद्यालय छोडेका थिए । बाल क्लबका विद्यार्थीहरु घरमै गएर उनीहरुलाई विद्यालय भर्ना गराएपछि अहिले सयदा कक्षा ८ र आश्मा छ कक्षामा भर्ना भएका छन् ।  ‘आमाको खुट्टा भाँचिएको थियो घरमा काम गर्ने मान्छे कोही नभएर विद्यालय आउन पाएका थिएनौँ’ आश्माले भनीन्,‘बाल क्लबका साथीहरु गएर बुवालाई भन्नु भयो र कापि किताब, झोला र डे«स पनि दिएपछि पढ्न पाएका छौँ ।’ बाल क्लबको सक्रियताले विद्यालयमा विद्यार्थीको नियमितता बढेको शिक्षिका बिष्णु बडुवालले बताइन् । ‘बाल क्लबका भाई बहिनीको सक्रियताले विद्यार्थी नियमित आउन थालेका छन्’ शिक्षिका बडुवालले भनीन्,‘भाई बहिनीहरु विद्यार्थीका घर घरमा पुग्नुका साथै समुदाय सरसफाइ र विभिन्न जनचेतानामूलक कार्यक्रम समेत गर्ने गरेका छन् ।’
मक्का मदिना मात्रै होइन बिचैमा विद्लय छोड्ने, अनियमितता घटाउन र विद्यार्थी केन्द्रीत शिक्षणका लागि सुर्खेतका विभिन्न गाविसमा बाल क्लब, गाउँ बाल संरक्षण समिति र विद्यालयले संयुक्त अघि बढेका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा स्याक नेपालले सञ्चालन गरेको सुनौलो भविष्यका लागि सिकाई कार्यक्रम अन्तर्गत विद्यालयमा बाल क्लब, गाविसमा गाउँ बाल संरक्षण समिति  र विद्यालयमा शिक्षकहरुको ‘एक्सन लर्निङ गु्रप’ गठन गरीएको छ । कार्यक्रम अन्तर्गत साविकका लाटीकोइली, उत्तरगंगा र मैनतडा तथा सहारे र मैनतडा गाविसमा बाल संरक्षण समिति बाल क्लब र २० वटा विद्यालयमा विभिन्न सहयोग गरिएको कार्यक्रम अधिकृत तेज सोनामले बताए । विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालय भर्ना गराउने र भर्ना भएका विद्यार्थी टिकाइराख्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए । कार्यक्रमले प्रत्येक बाल संरक्षण समितिलाई ५ लाख ३२ हजारको अक्षय कोष स्थापना गरिदिएको छ भने आर्थिक अवस्था कम्जोर भएर विद्यालय छाडेका र अनिमित विद्यार्थीलाई नियमित गराउन छात्रबृति प्रदान गरेको छ । कम्जोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन, नरम सीप तथा जीवन उपयोगी सीप र शिक्षण सामाग्री तथा बाल क्लबलाई विभिन्न कार्यक्रम सञ्चालनका लागि पनि सहयोग गरिएको कार्यक्रम संयोजक सोनामले बताए । साथै अनुगमन मूल्याङकन जवाफदेहिता तथा सीकाई अवधारणा (मिल) ले सिकाइमा थप प्रभावकारीता ल्याएको मेल अधिकृत रेशम चन्दले बताए ।
सुनौलो भविष्यका लागि सिकाई कार्यक्रमले बाल संरक्षण समितिमा अक्षय कोष स्थापना गरिदिएपछि समितिलाई काम गर्न सजिलो भएको साविकको लाटीकोइली (वीनपा १३–१७ वडा ) बाल संरक्षण समितिका अध्यक्ष पद्मा खड्काले बताइन् । समितिले विद्यालय र बाल क्लबसंग मिलेर विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने र नियमिति गराउने काम गरिरहेको उनले बताइन् । मेहलकुना ७ को वडाखोलीको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा  विद्यार्थीको अनियमित दर २० प्रशितबाट घटेर अहिले १४ प्रतिशतमा पुगेको विद्यालयका प्राचार्य ढालबहादुर खत्रीले बताए । खत्रीले शिक्षकहरुलाई  नरम सीप तथा जीवन उपयोगी सीप विद्यार्थीलाई बढी सक्रिय बनाएर पढाउने विधि अपनाएकाले विद्यार्थीहरुले कक्षामा सक्रियतापूर्वक सहभागिता जनाउने गरेको उनले जनाए । जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक बलबरि सुनारले कार्यक्रमले विद्यालय बाहिर रहेका विद्यार्थी भर्ना र भर्ना भएकालाई विद्यालयमा नियमित गराउन महत्वपूर्ण सहयोग गरेको बताए । उनले अहिले सबै बालबालिकालाई विद्यालय भर्ना गराउनु र निरन्तरता दिनु चुनौती भएको बताउँदै यस्ता किसीमका कार्यक्रमले सरकारको उद्देश्यमा सहयोग पुग्ने बताए ।

गोविन्द खत्री
सुर्खेत, फागुन ।
निर्माण सम्पन्न भइ सञ्चालनको लाइनमा रहेको चलचित्र ‘तुफान’ को सुर्खेतमा बिशेष प्रदर्शनी हुने भएको छ ।
आउँदो चैत महिनाको पहिलो शनिबार ७ गते चलचित्र तुफानको विशेष प्रदर्शनी हुने भएको हो । चलचित्र निर्माता यूनिटले वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनागरी बिशेष सो गर्न लागिएको बारे जानकारी दिएको हो । सुर्खेती सञ्चारकर्मी समेत रहेका निर्माता रमेशकुमार पाण्डेले चलचित्रको व्यापार भन्दा पनि प्रचार प्रसारका लागि विशेष सो गर्न लागिएको बताए । चलचित्रका बारेमा जानकारी दिँदै कार्यकारी निर्माता सुर्खेती युवा व्यवासयी कमल खड्का ‘जुनी’ले चलचित्र आउँदो बैशाखमा नयाँ बर्षको अवसर पारेर देशभरिका हलहरुबाट एकैसाथ प्रशारण गरिने बताए । उत्कृष्ट चलचित्र भएको दाबि गर्दै दर्शकहरुले मनपराइदिएर चलचित्रले राम्रै व्यापार गर्ने आशा लिएको उनले बताएका छन् । बासुदेव पोख्रेलले निर्देशन गरेका छन् भने चलचित्र कलाकारहरु राजेश ढुङ्गाना, सन्तोष केसी र कल्पना शाहीको मुख्य भूमका रहेको छ । मामा भान्जाको पट कथा रहेको उक्त चलचित्रमा, हरि उदासीको संगीत रहेको छ । रोशन श्रेष्ठले द्वन्द्व र सुनिल गिरीले नृत्य निर्देशन गरेका छन् । सुमन तन्डुकारले छायांकन गरेका छन् भने प्रज्वलित पराजुलीले चलचित्रको सम्पादन गरेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक जनार्दन चालिसे रहेका छन् । चलचित्रमा केशव  तामाङको पनि लगानी रहेको बताइएको छ । यसै चलचित्रबाट डेब्यु गरेकी सुर्खेतकै नायिकका शाहीले अन्य चलचित्रमा समेत अवसर प्राप्त गरेकी छन् ।
चलचित्र निर्माणमा ३५ लाख खर्च भएको र अब प्रचार प्रसारमा १० लाख जति खर्च हुने अनुमान रहेको निर्माता यूनिटले जनाएको छ ।

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?