सुर्खेतमा रहेका प्रायः राजनीतिक दलहरुले आसन्न संविधानसभा निर्वाचनका लागि पुरानै उम्मेदवारलाई प्राथमिक्ता दिएका छन् ।
भदौ अन्तिमसम्म क्षेत्रीय र जिल्ला संगठनबाट संभावित उम्मेदवारको नाम सिफारीस गरेका नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली कांग्रेस उम्मेदवार छनौटको अन्तिम चरणमा पुग्दा गत संविधानसभा निर्वाचनका उम्मेदवारलाई नै प्राथमिक्ता दिएका हुन् । अधिकांस दलहरुमा गत निर्वाचनमा उठाइएका उम्मेदवारलाई नै यसपटक पनि प्रत्यक्ष वा समानुपातिक कोटामा उठाउने भएका छन् । मंसिर ४ मा हुन लागेको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार हुने भएका छन् । एमाले स्थायी समितिको सोमबार बसेको बैठले पुरानै उम्मेदवारलाई टिकट दिने निर्णय गरेको सुर्खेत जिल्ला अध्यक्ष नवराज रावतले जानकारी दिए । अघिल्लो निर्वाचनमा विजयी भएकाहरुलाई नै यस पटकको निर्वाचनमा उम्मेदवार उठाउने एमाले पार्टीको निर्णय अनुसार क्षेत्र नं १ बाट निर्वतमान संविधानसभा सदस्य कमला शर्मा र क्षेत्र.नं. २ बाट यामलाल कंडेललाई उम्मेदवार उठाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि सुर्खेतमा प्रत्यक्ष तर्फका उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । राप्रपा नेपालले क्षेत्र नं १ बाट ओमबहादुर जिसी, २ बाट मुकुन्दश्याम गिरी र ३ बाट बसन्त श्रेष्ठलाई उम्मेदवार उठाउने बताइएको छ ।




