एकल जातीय नाराकै कारण दोस्रो संविधानसभामा असफलता पाएको विश्लेषण गरिएको एमाओवादी अहिले त्यसबाट पछि हटेको छ । अघिल्लो संविधानसभा निर्वाचन ताका एकल जातीय पहिचान र एकल जातीय संघीयताको नारा बोकेको एमाओवादी गत मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनदेखि यहाँसम्म भइसक्दासम्म पुरै ‘युर्टन’ भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार वीरेन्द्रनगरमा यो कुराको पुष्टि गरेका छन् । एकल जातीय पहिचान र एकल जातीय राज्यको नारा एमाओवादीको भएको भन्ने कुरालाई उनले ठाडै अस्वीकार गरेका गरे । क्रान्तिकारी पत्रकार संघ सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले एमाओवादीले कहिल्यै एकल जातीय नारा नउठाएको ठोकुवा गरे । ‘हामीले एकल जातीय पहिचानको नारा र एकल जातीय संघीयताको नारा कहिल्यै उठाएका थिएनौँ’ अध्यक्ष दाहालले भने, ‘यो त काँग्रेस, एमालेले हामीलाई कमजोर पार्न जनतामा छरेको भ्रम मात्र हो ।’ उनले उत्पीडनमा परेका जाती, क्षेत्र तथा समुदायलाई उकास्नुपर्छ भन्ने मात्र आफूहरुको मुद्धा भएको दावी गरे ।
एक फरक प्रसंगमा उनले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा लागेको बताएका छन् । उनले एमालेसँग पनि पार्टी एकता हुन सक्ने संकेत गरे । सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकीकरण गर्न एमाओावदी लागेको भन्दै उनले कुनै दिन एमालेसँग पनि एकता हुन सक्ने आशय व्यक्त गरेका हुन । तर, अहिले तत्काल कसैसँग पनि एकता सम्भव नभएको उनको भनाई छ । अध्यक्ष दाहालले पार्टी एकता विचार, राजनीतिक कार्यदिशामा एकता नभइकन नहुने भन्दै यसका लागि नेकपा–माओवादी लगायतका दलहरुसँग अनौपचारिक छलफल चलिरहेको बताए । ‘सबभन्दा पहिलो माओवादीबाट फुटेकाहरुबीच नै एकताको प्रयास भइरहेको, यसमा वैद्यजी पनि सहमत हुनुहुन्छ’ उनले भने, ‘पछि एमाले लगायतका अन्य पार्टीहरुबीच पनि एकताको प्रयास अघि बढाइनेछ ।’ अहिले माओ विचार बोक्नेहरुबीच कार्यगत एकताका विषयमा छलफल भइरहेको भन्दै उनले यसको उद्देश्य अन्ततः पार्टी एकता नै भएको बताए ।
एक अर्काे प्रसंगमा दाहालले अहिले देशमा सरकार भए÷नभएको केही अनुभूति नभएको बताए । मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जना सभासद समेत अहिलेसम्म मनोनित हुन नसक्नुमा सरकारकै दोष रहेको उनको जिकिर छ । संविधान निर्माणका विषयमा बोल्दै दाहालले समय पर्याप्त भएको उल्लेख गर्दै तोकिएकै समयमा सबैले मान्य खालको संविधान जारी हुने बताए । तर, पनि दलहरुले औपचारिक मात्र नभएर अनौपचारिक छलफल समेत गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ । ‘ट्रयाक वानले मात्र समस्या समाधान हुँदैन’ उनको कथन छ, ‘हामीले ट्रयाक टु को माध्यमबाट अगाडि बढ्यौ भने कुनै पनि विषयमा सहमति हुनै नसक्ला जस्तो मलाई लागदैन ।’
जिम्मेवार प्रतिपक्षले खेल्ने भूमिका एमाओवादीले संसदमा देखाएको उनको भनाई छ । रकमान्तर लगायतका विषयमा एमाओवादीले विरोध गरेर सदन अवरोध गरेपछि अहिले छानविन गर्ने सहमति भएको उल्लेख गर्दे दाहालले १२ दिनसम्म सदन अवरुद्ध गर्नु प्रतिपक्षको धर्म भएको बताए ।
अध्यक्ष दाहाल वीरेन्द्रनगरमा भएको एकीकृत माओवादीको भेरी–कर्णाली राज्यस्तरको अगुवा कार्यकर्ता प्रशिक्षणको सिलसिलामा सुर्खेतमा आएका हुन् । अध्यक्ष दाहालसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासविच कृष्णबहादुर महरा, नेताहरु पोष्टबहादुर बोगटी, शक्ति बस्नेत र कालीबहादुर मल्ल लगायत नेताहरु समेत सुर्खेत आएका थिए ।

