गोविन्द खत्री
सुर्खेत,८ असोज ।
 |
| प्रदर्शनी मेलामा जुत्ता बिक्रि गर्दै उद्यमी टेकबहादुर । |
छिन्चुका टेकबहादुर सार्कीमा परम्परागत रुपमा बुबाले अंगाल्दै जुत्ता सिलाउने पेशा चार बर्ष पहिले व्यवसायका रुपमा अगाडी बढाउने सोच पलायो । उनले जेनतेन १० हजारको जोहो गरेर पहिलोपटक जुत्ता सिलाएर आफ्नै पसलबाट बिक्रि गर्न सुरु गरे । व्यवसायमा लगनशिल भएर लागेपछि आम्दानी बढ्दै गयो ।
राम्रो आम्दानी हुन थालेपछि टेकबहादुरले व्यवसायमा लगानी बढाउँदै गए । आम्दानीले उत्साह बढ्दै गएपछि छिन्चुमा चन्द्र सुर्य छाला जुत्ता उद्योगका रुपमा उनले आफ्नो व्यवसाय दर्ता गरे । उनको उद्योगबाट उत्पादन भएको जुत्ताहरुले गुणस्तरीयता कायम गरेपछि बजारमा माग बढ्यो र व्यापारीहरु होलसेलमा किन्नका लागि उनका पसलसम्म पुग्न थाले । ‘सुरुमा आफैँ सिलाएर आफ्नै पसलबाट बिक्रि गर्ने गरेको थिए’ व्यवसायी टेकबहादुरले भने,‘अहिले व्यापारीहरु होलसेलमा किन्न आउने गरेका छन् ।’ छिन्चुका फेन्सि पसल तथा वीरेन्द्रनगर र नेपालगञ्ज, कोहलपुर बजारबाट अहिले उनलाई पहिले नै माग आउने गरेको छ । उनको उद्योगमा उत्पादित जुत्ताले बजारमा चन्द्र सुर्यको आफ्नै ब्राण्ड बनाएको छ । कालिगड र आफै मालिकका रुपमा व्यवसाय सुरु गरेका उनले अहिले अरु सात जनालाई रोगारी दिएका छन् । ‘आफैँ कालिगडबाट व्यवसाय सुरु गरेको हुँ’ उनले भने‘अहिले अरु सात जनाले मेरो उद्योगमा काम पाएका छन् ।’ उद्योगलाई बढाउँदै गएपछि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणका लागि विश्वास गर्न थाले । अहिले कृषि विकास बैंकबाट ४ लाख कर्जा लिएर उद्योगलाई विस्तार गरेको उनले बताए । अहिले उनले मासिक ५० हजार आम्दानी हुने गरेको बताए । अझै बजारमा माग भए अनुसार जुत्ता पु¥याउन नसकेको उनी बताउँछन् । ‘बजारको माग पु¥याउन सकेको छैन्’ उनी भन्छन्‘स्वदेशममा काम गर्ने मान्छे पाउँनै मुस्किल छ ।’ चित्तबुझ्दो पारिश्रमिक दिँदापनि कामदार पाउन नसकेकोले व्यवासयलाई सोचे अनुरुप अगाडी बढाउन नसकेको टेकबहादुरले सुनाए । यस अघि विदेश नगएका टेकबहादुरको अब पनि विदेश जाने सोच छैन् । बरु आफ्नो परम्परागत पेशा व्यवसायलाई समेत त्यागेर विदेशीने युवाहरुलाई विदेश जानु पहिले आफ्नै देशमा संभावना खोज्नुपर्ने उनको सुझाव छ ।
 |
| सुर्खेती ढाँका उद्योगको स्टलमा उद्यमी खड्ककुमारी गाहा । |
उत्तरगंगा ७ लवस्थाका पाँच जना महिलाहरुले दुई बर्ष अघि निकास ढाका लघु उद्यम समूह मार्फत ढाँका बुन्न सुरु गरे । कमला चौधरी समूहकी एक सदस्य हुन् । उनले सुरुमा ढाँका बुनेर मासिक दुई हजार जति कमाउथिन् । सुरुमा कमाई कम भएपनि लगनशिल भएर काम गरे राम्रो संभावनादेखेपछि उनले ढाँकामा आफ्नो भविष्य देखिन् । व्यवसाय प्रतिको लगनशिलता परिश्रम र निरन्तरताले अहिले उनी मासिक १० देखि १५ हजार कमाई गर्छिन् । ‘सुरुमा त दुई तिन हजार मात्रै कमाई हुन्थ्यो’ उनले भनीन् ‘काम गर्दै जाँदा सिकिदो रहेछ ।’ उनले उद्योगमा ढाँका चोलाको कपडा, कुर्ता सुरुवाल,साडी, टोपी, पछ्यौरा, हाते रुमाल, स्वाल लगायतका ढाँकाबाट निर्माण गरिएका कपडाहरु बुन्छिन् । बुनेका कपडा बिक्रिका लागि बजारको कुनै समस्या छैन् । बजार माग अनुसारको सामग्री बजारमा पु¥याउन नसकेको उनी बताउँछिन् । वीरेन्द्रनगर ५ मा स्थापाना गरेको सुर्खेती ढाँका उद्यमी समूह अहिले नमूना उद्योगका रुपमा स्थापित भएको छ । २०६६ सालमा ७ जना महिलाहरुले उद्यम शुरु गरेका थिए । महिनाको एक हजारबाट बचत गर्न सुरु गरेकोमा अहिले समूहमा १ लाख १२ हजार बचत संकलन भएको छ । समूहका सबै सदस्यले मासिक १५ हजार भन्दा धेरै कमाउने गरेका छन् । सफल हुनुमा सामूहिकता नै महत्वपूर्ण पक्ष भएको उनीहरु बताउँछन् । ‘अलिअलिबाट सुरु गरेका अहिले त हामी व्यवसायी भएका छौँ’ समूहकी एक जना सदस्य खड्ककुमारी गाहा भन्छिन्,‘समूहमा काम गरेर नै सफल भएका हौँ ।’ समूहमा काम गर्दा कच्चा पदार्थ धागो ल्याउन, बिक्रि गर्न सजिलो भएको र समूहमा काम गर्दा जोश जाँगर बढ्ने उनको भनाई छ । आफूले बुनेका ढाँकाका चोलो, साडी, गलबन्दी, टोपी, पछ्यौरा लगायतका सामानहरु स्थानीय वीरेन्द्रनगर बजार, छिन्चु कोहलपुर सम्म बिक्रि हुने गरेको गाहाले बताइन् । सुरुमा बजारसम्म बिक्रिका लागि जानुपरेपनि अहिले व्यापारीहरुको माग अनुसार सामान बुन्ने गरेको उनले सुनाइन् ।
थोरै लगानीमा परम्परागत रुपमा गर्दै आएको पेशालाई व्यवसायिक योजना अनुसार काम गर्ने लघु उद्यमीहरु उद्योगी बन्दै गएको छन् । सुर्खेतमा अहिले एक हजार दुई सय लघु उद्यमी भएको जिल्ला लघु उद्यमी समूह संघ, सुर्खेतले जनाएको छ ।