Monday, February 23, 2015

‘खाजा कटाएर प्याड किन्छन् विद्यार्थी’
गोविन्द खत्री
सुर्खेत,  फागुन ।
बाल क्लबमा आबद्ध विद्यार्थीहरुको सक्रियाताले वीरेन्द्रनगर १७ बेलघारीको मक्का मदिना निम्न माध्यमिक विद्यालयमा विद्यार्थीको अनियमितता दर घटेको छ ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बाल क्लब मधिना बाल क्लबले विद्यालयमा विद्यार्थी अनियमित हुनुका कारण पत्ता लगाई विभिन्न अभियान सञ्चालन गरेपछि विद्यार्थी नियमित हुन थालेका हुन् । बाल क्लबका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मासिक पाँच रुपैँया क्लबमा जम्मा गर्छन, जुन पैंसा महिनावारी हुँदा प्रयोग गरिने प्याड किन्न प्रयोग गर्छन् । बिशेषगरी ६–८ कक्षामा अध्ययनरत बालिकाहरु महिनावारी हुँदा विद्यालय नआउने गरेपछि उनीहरुलाई विद्यालयमा नियमित गराउन प्याड वितरण गर्दै आएको बाल क्लबकी सचिव कमला बि.क.ले बताइन् ।  ‘साथीहरु किन नियमित स्कूल आउँदैनन भनेर खोजी गर्दा विद्यालयमै महिनावारी हुने डरले पनि नआउने गरेको पायौँ’ उनले भनीन्,‘बिशेषगरी बालिकाहरुलाई नियमिति गर्न हामीले पाँच रुपैँया उठाएर प्याड किन्ने गरका छौँ ।’ क्लबमा ३५ जना बालबालिका आबद्ध छन् उनीहरु आफूले उठाएको पैँसाले नपुगेमा विद्यालयसंग पनि सहयोग माग्ने गरेका छन् । प्याड वितरण गरेपछि बालिकाहरु महिनावारी भएको बेला पनि विद्यालय आउनुका साथै बिचैमा कक्षा छोडेर जाने समस्या समेत हटेको उनी बताउँछिन् । क्लबले कक्षामा नियमित गराउने मात्र होइन नियमित नहुने विद्यार्थीका घर घरमा पुगेर अभिभावकसंग भेटेर उनीहरु समस्या बुझ्ने गरेका छन् । क्लब र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले एक महिनासम्म विहान ८ देखि १० बजेको समयमा अन्य विद्यार्थीका घरमा गएर अनियमित हुनेलाई पनिसंगै विद्यालय ल्याउने अभियान सञ्चालन गरे ।  ‘सबै साथीहरु सधैँ किन विद्यालय आउदैनन् भनेर पत्ता लगाउनेक्रममा  हामीले कतै घरमा खान समयमा नपाकाइदिएर हो की भनेर उनीहरुका घरघरमा पनि गयौँ’ बाल क्लबकी सचिव कमलाले भनीन्,‘उनीहरुको घरमा गएर आफैले ड्रेस लगाइदिएर संगै स्कुलपनि ल्यायौँ ।’
बाल क्लबले बीचैमा विद्यालय छोडेर घर बसेका आफ्नो समुदायका बालबालिकाहरुको पहिचान गरी विद्यालय भर्ना पनि गराएको छ । मधिना बाल क्लबले बिचैमा विद्यालय छोडेका छ जनालाई चालु शैक्षिक सत्रमा भर्ना गराएको छ । आश्मा खातुन र सयदा दुई बहीनीले नै गत बर्ष विद्यालय छोडेका थिए । बाल क्लबका विद्यार्थीहरु घरमै गएर उनीहरुलाई विद्यालय भर्ना गराएपछि अहिले सयदा कक्षा ८ र आश्मा छ कक्षामा भर्ना भएका छन् ।  ‘आमाको खुट्टा भाँचिएको थियो घरमा काम गर्ने मान्छे कोही नभएर विद्यालय आउन पाएका थिएनौँ’ आश्माले भनीन्,‘बाल क्लबका साथीहरु गएर बुवालाई भन्नु भयो र कापि किताब, झोला र डे«स पनि दिएपछि पढ्न पाएका छौँ ।’ बाल क्लबको सक्रियताले विद्यालयमा विद्यार्थीको नियमितता बढेको शिक्षिका बिष्णु बडुवालले बताइन् । ‘बाल क्लबका भाई बहिनीको सक्रियताले विद्यार्थी नियमित आउन थालेका छन्’ शिक्षिका बडुवालले भनीन्,‘भाई बहिनीहरु विद्यार्थीका घर घरमा पुग्नुका साथै समुदाय सरसफाइ र विभिन्न जनचेतानामूलक कार्यक्रम समेत गर्ने गरेका छन् ।’
मक्का मदिना मात्रै होइन बिचैमा विद्लय छोड्ने, अनियमितता घटाउन र विद्यार्थी केन्द्रीत शिक्षणका लागि सुर्खेतका विभिन्न गाविसमा बाल क्लब, गाउँ बाल संरक्षण समिति र विद्यालयले संयुक्त अघि बढेका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा स्याक नेपालले सञ्चालन गरेको सुनौलो भविष्यका लागि सिकाई कार्यक्रम अन्तर्गत विद्यालयमा बाल क्लब, गाविसमा गाउँ बाल संरक्षण समिति  र विद्यालयमा शिक्षकहरुको ‘एक्सन लर्निङ गु्रप’ गठन गरीएको छ । कार्यक्रम अन्तर्गत साविकका लाटीकोइली, उत्तरगंगा र मैनतडा तथा सहारे र मैनतडा गाविसमा बाल संरक्षण समिति बाल क्लब र २० वटा विद्यालयमा विभिन्न सहयोग गरिएको कार्यक्रम अधिकृत तेज सोनामले बताए । विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालय भर्ना गराउने र भर्ना भएका विद्यार्थी टिकाइराख्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए । कार्यक्रमले प्रत्येक बाल संरक्षण समितिलाई ५ लाख ३२ हजारको अक्षय कोष स्थापना गरिदिएको छ भने आर्थिक अवस्था कम्जोर भएर विद्यालय छाडेका र अनिमित विद्यार्थीलाई नियमित गराउन छात्रबृति प्रदान गरेको छ । कम्जोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन, नरम सीप तथा जीवन उपयोगी सीप र शिक्षण सामाग्री तथा बाल क्लबलाई विभिन्न कार्यक्रम सञ्चालनका लागि पनि सहयोग गरिएको कार्यक्रम संयोजक सोनामले बताए । साथै अनुगमन मूल्याङकन जवाफदेहिता तथा सीकाई अवधारणा (मिल) ले सिकाइमा थप प्रभावकारीता ल्याएको मेल अधिकृत रेशम चन्दले बताए ।
सुनौलो भविष्यका लागि सिकाई कार्यक्रमले बाल संरक्षण समितिमा अक्षय कोष स्थापना गरिदिएपछि समितिलाई काम गर्न सजिलो भएको साविकको लाटीकोइली (वीनपा १३–१७ वडा ) बाल संरक्षण समितिका अध्यक्ष पद्मा खड्काले बताइन् । समितिले विद्यालय र बाल क्लबसंग मिलेर विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने र नियमिति गराउने काम गरिरहेको उनले बताइन् । मेहलकुना ७ को वडाखोलीको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा  विद्यार्थीको अनियमित दर २० प्रशितबाट घटेर अहिले १४ प्रतिशतमा पुगेको विद्यालयका प्राचार्य ढालबहादुर खत्रीले बताए । खत्रीले शिक्षकहरुलाई  नरम सीप तथा जीवन उपयोगी सीप विद्यार्थीलाई बढी सक्रिय बनाएर पढाउने विधि अपनाएकाले विद्यार्थीहरुले कक्षामा सक्रियतापूर्वक सहभागिता जनाउने गरेको उनले जनाए । जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक बलबरि सुनारले कार्यक्रमले विद्यालय बाहिर रहेका विद्यार्थी भर्ना र भर्ना भएकालाई विद्यालयमा नियमित गराउन महत्वपूर्ण सहयोग गरेको बताए । उनले अहिले सबै बालबालिकालाई विद्यालय भर्ना गराउनु र निरन्तरता दिनु चुनौती भएको बताउँदै यस्ता किसीमका कार्यक्रमले सरकारको उद्देश्यमा सहयोग पुग्ने बताए ।

0 comments:

Post a Comment

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?