गोविन्द खत्री
सुर्खेत, २१ असार ।
नजिकैको बस पार्कका कारण मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतको महाविद्यालय (वीरेन्द्रनगर बहुमुखि क्याम्पस) र सुर्खेत क्याम्पस (शिक्षा) र इगरब्रिज उच्च माविका विद्यार्थीहरुले पढाईमा बाधा खेप्नु परेको छ ।
एक बर्ष पहिले बसपार्कको पुनःनिर्माण सुरु गरेपछि वीरेन्द्रनगर—९ मिलडाँडा स्थित शिक्षा क्याम्पस र बहुमुखी क्याम्पस रहेकोबीचको खालि ठाउँमा बैकल्पिक बसपार्क बनाइएको थियो । सुरुमा विद्यार्थीहरुको समेत समहाभागितामा वीरेन्द्रनगर नगरपालिकाको अगुवाईमा अनुगमन समिति गठन गरी विभिन्न सहमति गरीए पनि यातायात समितिहरुले सहमतिको पालना नगर्दा पठन पाठनमा प्रत्यक्ष रुपमा असर परेको छ ।
बसहरुले हाइवेयमा हरण नबजाउने, क्याम्पसहरुको उत्तरतर्फको सडकबाट ठुला गाडीहरु नचलाउने र शौचालय लगाएतका फोहोर जन्य कुराहरुको निर्माण नगर्ने सहमति भएपनि त्यसको पालना नभएको हो । बस चालकहरुले मनपरी ढंगले हरण बजाउने र क्याम्पसको उत्तर तर्फको सडक हुँदै दैलेख लगायतका ठाउँमा बसहरु सञ्चालन गर्ने गरेकाले पढाईमा बाधा पुगेको विद्यार्थीहरुको भनाई छ ।
एक विद्यार्थीले भने “गाडीहरुले बेस्सरी हरण बजाउँदा परिक्षाको समयमा त झनै असर पर्ने गर्दछ,” क्याम्पसको नजिक बसपार्क राखिएकोले क्याम्पस प्रशासनले समेत चासो नदेखाउनु विद्यार्थीहरुको भविष्य माथिको खेलवाड हो ।” बसपार्क व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाले लिएको भएपनि व्यवस्थापन तर्फ खासै चासो नलिएको विद्यार्थीहरुले बताएका छन् ।
अनुगमन समितिका सदस्य समेत रहेका अनेरास्वीयु सुर्खेतका सचिव प्रेम खड्काले बसपार्क स्थापनाका लागि सुरुमा भएको सहमतिको कार्यान्वयन नगरी मनपरी ढंगले बस व्यावसायी समितिमहरु चलेको भन्दै यसमा नगरपालिकाले समेत चासो नदेखाएको बताए ।
सुरुमा भएको सहमती अनुसार पहिलो ३ महिना र पुनः ६ महिना सम्म सो स्थानमा बसपार्क राख्ने सहमति भएपनि समय सकिएको महिनौं वितिसक्दा पनि नगरपालिकाले बसपार्क सार्नमा चासो नदिनु लाचारिपन भएको बताए । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश पौडेलको संयोजकत्वमा रहेको अनुगमन समितिलाई समेत सक्रिय नबनाई संयोजक आफूखुसी ढंगले अघि बढेको र व्यवस्थापनमा चासो नदेखाएको खड्काको भनाई छ ।
यता समितिका संयोजक तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले भने नगरपालिका एक्लैले गरेर केही नहुने बताउँदै पुनः बस समितिलाई पत्राचार गर्ने बताए । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले बस व्यावसायी समितिहरुले सहमतिको सुरु—सुरुमा पालना गरेपनि पछि आएर पालना नगरेको बताउँदै सकभर सहमति कार्यान्वयन गराउने बताउँछन् । निर्माणाधिन बसपार्कमा बेश कोर्ष तयार भएको अर्थात असारको अन्त्य सम्ममा ग्राभेल गरिसक्ने बताए ।
प्राबिधिकहरुको अनुसार बेश कोर्ष तयार भएपछि बसहरु सञ्चालनमा ल्याउन सकिने अधिकृत ढकालले बताए । बसपार्क भन्दा पनि बसपार्कमा सञ्चालन गरिएका पसलहरुका कारण पनि सञ्चालनमा ल्याउन सोच्नु परेको ढकालले बताए । विद्यार्थीहरुले भने छिटो भन्दा छिटो बसपार्क व्यवस्थित गरी शिक्षण क्षेत्रमा ध्वनी तथा अन्य प्रदुषणबाट मुक्त गर्नुपर्ने माग राखेका छन् ।

