Wednesday, November 13, 2013

व्यक्तिगत विवरण:
पुरानाम:  श्री  कमला शर्मा
ठेगाना स्थायी : घोरेटा गाविस–२, रचेना, सुर्खेत
अस्थायी : बुद्धनगर–३४, काठमाण्डौं
सम्पर्क ठेगाना : ९७४११५४२८६ (मो
इमेल : kamalasharma1@yahoo.com
जन्म मिति : २०१९ असार
जन्म स्थान : कट्टी गाविस–२, दैलेख
आमाको नाम : मना शर्मा
बुबाको नाम : धनीराम शर्मा
श्रीमान्को नाम : स्व. ऋषिप्रसाद शर्मा
शिक्षा : माध्यमिक शिक्षा
राजनीतिक दल : नेकपा (एमाले
निर्वाचन प्रणाली : प्रत्यक्ष निर्वाचन
मैले आँफैले रातो टीका र अविर लगाएँ
कमला शर्माले ऋषिप्रसाद शर्माको जीवन साथी र राजनीतिक सहयात्री भएर खुशीले २७ वर्ष बिताइसक्नु भएको थियो । तर, संविधानसभा निर्वाचनको मुखैमा आएर २०६४ साल चैत्र २६ गते सुर्खेत क्षेत्र न. १ बाट चुनावमा उठेका उहाँको श्रीमान् र एमालेका प्रत्यक्ष उम्मेद्वार ऋषिप्रसाद शर्माको गोली हानी हत्या गरियो । त्यसपछि एकाएक कमलाको काँधमा पारिवारिक र राजनीतिक जिम्मेवारी थपियो । ऋषिको हत्याका कारण सुर्खेत क्षेत्र न. १ को संविधानसभाको चुनावी प्रक्रिया अबरुद्ध भएको थियो ।
त्यसपछि नेकपा (एमाले ले ऋषिकी पत्नी कमला शर्मालाई सोही क्षेत्रबाट उम्मेद्वार बनायो । श्रीमान्को दाहसंस्कार गरेको तेस्रो दिन अर्थात् २०६४ साल चैत्र २९ गतेदेखि कमला चुनावी मैदानमा उत्रनुभयो । उहाँ भन्नुहुन्छ, ‘चुनाव प्रचारप्रसारमा हिँड्दा जनताले भाषण गर्न आग्रह गर्थे, तर म भाषण गर्न जान्दिन, जनताका काम गर्न सक्छु भन्थेँ ।’ उहाँ सम्झनुहुन्छ, ‘त्यतिबेला मैले जनतासँग भोट पनि मागिँन, जनता आफैले मेरो दुःख बुझेर मलाई भोट दिन आउनुभयो ।’ श्रीमान्को हत्या भएको तेह्रौं दिन अघिको राति श्रीमान्को काजक्रियाका लागि कमला घर पुग्नुभयो । श्रीमान्को तेह्रांै दिनको काजक्रिया चलिरहेकै समयमा समर्थकहरूले कमलाको विजय जुलुस निकालिरहेका थिए । उहाँ भन्नुहुन्छ, ‘रातो टीका र अविर ल्याएर जुलुसमा सहभागी साथीहरू मेरो अगाडि उभिनुभयो, उहाँहरूले मलाई अविर लगाउन सक्नु भएन । तर, मैले आँफैले रातो टीका र अविर लगाउँदै विजय जुलुसमा सहभागी भएकाहरूलाई तपाइँहरूको नेता बाँचिरहनुभएको छ र अमर हुनुहुन्छ भनेँ ।’
कमला संविधानसभाको चुनावमा नेकपा (एमाले कातर्फबाट प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक मात्र महिला संविधानसभा सदस्य हुनुहुन्छ । श्रीमान्को हत्याले शोकविह्वल हुनुभएकी कमला हत्याको बदला लिएरै छाड्ने अठोटका साथ राजनीतिमा सक्रियतापूर्वक लाग्नुभयो । श्रीमान्को हत्याबाट स्तब्ध हुनुभएकी कमला त्यो सहनै नसकिने क्षणकाबारेमा यसरी बताउनुहुन्छ, ‘ऋषिको हत्याको लगत्तै मेरो मुखबाट मेरो श्रीमान्को ठाउँमा बस्न पाउनुपर्छ र हत्याको बदला लिन पाउनुपर्छ भन्ने शब्द मात्रै निस्किरहेको रहेछ ।’ संविधानसभा चुनावको मुखैमा सुर्खेतका लोकप्रिय नेता ऋषि शर्माको हत्याबाट भएपछि सिङ्गो सुर्खेत शोकमग्न भएको थियो । नेकपा (एमाले का तत्कालीन महासचिव माधवकुमार नेपालले सुर्खेत पुगेर कमलालाई सान्त्वना दिनुभएको थियो । हत्यारामाथि कारबाही हुन्छ भनेर महासचिव माधवकुमार नेपालले कमलालाई आश्वस्त पनि पार्नुभएको थियो । तर संविधानसभा निर्वाचन भएको तीनवर्ष पूरा भइसक्दा पनि ऋषिका हत्याराहरूलाई कारबाही भएको छैन । उहाँ भन्नुहुन्छ, ‘म जनताको अधिकार र उनीहरूका न्यायका लागि हिँडिरहेकी छु, तर म आफैले भने अझै पनि न्याय पाएकी छैन र मेरो श्रीमान्को हत्याराहरू नै अहिले देशको कानुन बनाउने ठाउँमा पुगेको देख्दा मलाई असाध्यै दुःख लाग्छ ।’
कमलाको जन्म सामान्य किसान परिवारमा भए पनि बुबाआमाको स्नेहका कारण ‘छोरीले पढ्नु हुँदैन’ भन्ने समाजमा पनि उहाँले पढ्ने अवसर पाउनुभएको थियो । ‘तर, कक्षा १० सम्म पढेपछि मैले नै पढाइमा ध्यान दिइँन,’ उहाँ स्वीकार्नुहुन्छ । सुर्खेत जिल्ला घोरेटाका ऋषिप्रसाद शर्मासँग कमलाको विवाह २०३७ सालमा १८ वर्षको उमेरमा भएको थियो । विवाहपछि श्रीमान् पढाइ र राजनीतिक गतिविधिमा संलग्न रहेका कारण उहाँ घरबाहिर बढी बस्नुहुन्थ्यो । कमला भने सासुससुराको हेरचाह गरेर र घरव्यवहार सम्हालेर घरैमा बस्नुहुन्थ्यो । त्यसबखत पढेलेखेका छोराछोरीले राजनीतिमा लाग्नुभन्दा जागिर खाइदिए हुन्थ्यो भन्ने चाहना जो कोही परिवारमा पनि हुन्थ्यो । ‘तर, मलाई जागिर खाने चाहना कहिल्यै पनि भएन,’ उहाँ भन्नुहुन्छ, ‘मेरो श्रीमान् देश र जनताका लागि व्यस्त हुनुहुन्छ भन्ने लाग्थ्यो । त्यसैले बरु असल जीवनसाथी भएर श्रीमान्को राजनीतिक यात्रा सफल पार्न सहयोग गर्छु भनेर चाहिँ म लागेकी थिएँ ।’ विवाह गरेपछि श्रीमान्को साथ र सङ्गतले कमलाले पनि बिस्तारै राजनीति बुझ्न थाल्नुभयो, तर पञ्चायती निरङ्कुश शासन कालका दिनहरूमा श्रीमान्सँग कमलाको भेटघाट पनि निकै थोरै मात्र हुन्थ्यो । ती सङ्घर्षका दिन सम्झदै उहाँ भन्नुहुन्छ, ‘छोरा तीन दिनको भएपछि मेरा श्रीमान्ले घर छाड्नु भयो । छोरा नौ दिनको हुँदा उहाँ पक्राउ परी दैलेख जेलमा पर्नुभयो । उहाँ ११ महिनापछि जेलबाट छुटेर घर आउँदा छोरो हिँड्न थालिसकेको थियो ।’
कमलाका अनुसार ऋषि पञ्चायतकालमा तत्कालीन प्रशासनको तारो बन्नु परेकाले त्यसको प्रत्यक्ष पीडा कमला र घरपरिवाले पनि भोग्नु परेको थियो । कमलाले २०५२ सालमा नेकपा (एमाले को सङ्गठित सदस्यता लिनुभएको थियो । २०५४ सालमा नेकपा (एमाले बाट घोरेटो गाविसमा उहाँले मनोनित वडा सदस्यको जिम्मेवारी निभाउनुभएको थियो । उहाँ २०६५ सालदेखि नेकपा (एमाले सुर्खेत जिल्ला कमिटीको सदस्य हुनुहुन्छ । श्रीमान् श्रीमती दुबैजना राजनीतिमा लागेकाले घरको आर्थिकस्थिति कमजोर थियो । उहाँ विगतका दुःख सम्झदै भन्नुहुन्छ, ‘जाडो समयमा बच्चा र हामीलाई न्यानो कपडा नभएर आगो बालेरै रात कटाउँथ्यौं ।’ २०६२÷६३ को १९ दिने जनआन्दोलनमा पनि ऋषि सक्रिय भएर लाग्नुभएको थियो । आन्दोलनका क्रममा उहाँले प्रहरीबाट धेरै पटक कुटाइ–पिटाई खानु भएको थियो ।
त्यतिमात्र होइन उहाँ नालीमा पनि फालिनुभएको थियो र प्रहरीले कुटेर उहाँको हात समेत भाँचिदिएको थियो । आफंैले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र पनि ऋषिका लागि कहिल्यै सुखद बनेन । प्रजातन्त्र प्राप्तिपछि पनि उहाँले निरन्तर सत्ताधारी काङ्ग्रेसको तारो बनिरहनुप¥यो । २०५१ सालको मध्यावधि निर्वाचनमा काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले धाँधली र बुथ क्याप्चर गरी थोरै मतले ऋषिलाई हराएको कमलाको भनाइ छ । संविधानसभाको चुनावमा निर्वाचित भएर संविधानसभाको पहिलो बैठकमा आउँदा कमलाले बैठकमा सबैका अगाडि पूर्वगृहमन्त्री तथा काङ्ग्रेसका सभासद् पूर्णबहादुर खड्कालाई दायाँ खुट्टाको चप्पलले हान्नुभएको थियो । यस सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘चुनावमा जनताले त्यही मागेका थिए र त्यो मैले पूरा गरेकी हुँ ।’ यद्यपि, संसदीय अभ्यासको इतिहासमा आलोचित त्यस घटनाप्रति आफूलाई कुनै पश्चाताप नलागेको कमला बताउनुहुन्छ । कमलालाई जिल्लाको विकासप्रति निकै चासो र चिन्ता छ ।
सभासद् भएपछि उहाँले संसद् विकास कोषको रकम आफ्नो क्षेत्रका १७ वटै गाविसलाई बराबर वितरण गर्नुभएको छ । खानेपानी, बाटोघाटो, शौचालय, स्कुल, सिँचाइजस्ता विकास संरचना निर्माणमा कोषको रकम खर्च भएको छ । सभासद् भएपछि संविधानसभाका बैठकहरू बाहेक विभिन्न सङ्घसंस्थाले आयोजना गरेका तालिम, सम्मेलन र गोष्ठीमा भाग लिने मौका पाउँदा आप्mनो क्षमताको विकास भएको र आत्मविश्वास बढेको कमलाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पहिले आफूभन्दा माथिका सदस्यका सामुन्ने ठूलो स्वरले बोल्न सक्दैन थिएँ, तर अहिले नेतादेखि जनसमूहको अघिल्तिर माइक समातेर भाषण गर्न सक्ने भएकी छु ।’ कमला संविधानसभा अन्तर्गत सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति तथा व्यवस्थापिका संसद् अन्तर्गत महिला, बालिबालिका तथा समाजकल्याण समितिको सदस्य हुनुहुन्छ । विभिन्न अप्ठ्याराहरू छिचोल्दै संविधानसभा र संसद्का काम उहाँले गरिरहनु भएको छ ।
जनताले चुनावमा जिताएर पठाएकाले जसरी भए पनि जनताको काम गर्नुपर्छ भन्ने उहाँको भावना छ । संविधानसभाको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिमा आफूले उठाएका विषयका सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘मैले समितिको मस्यौदामा जघन्य अपराधीलाई मृत्युदण्ड दिने प्रावधान हुनैपर्छ भनी जनताको सुझावअनुसार मत राखेकी थिएँ, तर त्यसमा मृत्युदण्ड स्वीकार गरिएन । आजीवन कारावास र सर्वस्वहरण भन्ने मात्र लेखियो ।’ साथै उहाँले समितिको बैठकमा सहिद परिवार र एकल परिवारको परिभाषा फरक हुनुपर्ने र उनीहरूका लागि सेवासुविधा पनि फरक हुनुपर्ने माग गर्नु भए पनि त्यो पूरा हुन नसकेको कमलाको भनाइ छ ।
                                     महिला सभासद् समूह(ककस)

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?