Wednesday, April 15, 2015

गोविन्द खत्री
सुर्खेत, ३ बैशाख । 
सरकारले आफूहरुको पुनर्निर्माण तथा पुनःस्थापना वेवास्था गरेको भन्दै यहाँका बाढी पीडितहरुले जंगल कब्जा गर्ने चेतावनी दिएका छन् । 
गत बर्ष साउन महिनामा आएको बाढीपहिरोबाट विस्थापित भई शिविरमा वस्दै आएका बाढी पीडितहरुको बुधबार वीरेन्द्रनरमा आयोजित आमसभामा यस्तो चेतावनी दिएका हुन् । विभिन्न शिविरमा गठिन संघर्ष समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले आमसभामा बोल्दै सरकार र जिल्लास्थित सरोकारवालाहरुले आफूहरुको व्यवस्थापनमा ध्यान नदिए आफै जंगल कब्जा गरेर वस्ने जिकिर गरे । ‘राष्ट्रपति प्रधानमन्त्री र नेताहरुले आजसम्म आसवासनमात्रै दिए’ तरंगा शिविरका अध्यक्ष मुनबहादुर सार्कीले भने,‘हामीलाई जग्गा चाहिएको आश्वासन होइन अब हामी आफै जंगल जान्छौँ, यो हाम्रो अन्तिम विकल्प हो ।’ अहिले सरकारले दिने भनेको रकमले नपुग्ने बताउँदै बाढीपीडितहरुले उक्त निर्णय आफूहरुको आँखामा छारो हाल्ने काम भएको प्रतिक्रिया दिएका छन् । हालै सरकारले राहात, पुर्नवास तथा अन्य कार्यक्रम अन्र्तगत सरकारले बाढी पहिरोबाट घरमा आंशिक क्षति भएका २३ हजार ६ सय ९७ परिवारलाई  घर मर्मतका लागि ५ हजार , घर पूर्ण क्षति भएपनि जग्गा भएका परिबारलाई घर निर्माणका लागि तीन किस्तामा  ७५ हजार र घर र जग्गा दुबै पूर्ण रूपमा क्षति भएका र अन्य कुनै पनि स्थानमा जग्गा जमिन नभएका परिवारलाई  जग्गा खरिदका लागि ५० हजार पहिलो किस्तामा र जग्गा खरिद गरे पछि घर निर्माणका लागि तीन किस्तामा गरी ७५ हजार गरी  जम्मा १ लाख २५ हजार दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ‘५० हजारमा जग्गा कहाँ पाइन्छ ? अनि पाँच हजारले घर टाल्न पुग्छ ? सरकारले नै किनिदेओस’ तरंगा शिविरका अध्यक्ष कार्कीले भने । 
आमसभामा बोल्ने अधिकांश बाढी पीडितहरुले सरकार र राजनीतिक दलहरुप्रति आक्रोश व्यक्त गरेका छन् । ‘चुनावका बेला भोट माग्न मात्रै आउने दलहरुले हाम्रो यस्तो अवस्था भएको ९ महिना सम्म के हेरेका छन्’ तातापानी शिविरका अध्यक्ष बलबहादुर बोहोराले भने,‘अनि हाम्रो यस्तो अवस्था नदेख्ने दृष्टिविहिन र श्रवण शक्ति नभएको सरकार हाम्रा लागि के काम छ ?’ अब पुनः बर्षा सुरु हुन २÷३ महिना मात्रै बाँकी भएको भन्दै कुनै व्यवस्थापन गरेपनि आफूहरुका लागि समस्या अवश्य आउने बाढी पीडितहरुको भनाई छ । बिहीबार (३ गते) जिल्ला स्थित सरोकारवालहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बाढीपीडित मुल संघर्ष समितिले तत्कालन निकास ननिस्किए जंगलबाटै आन्दोलनको सुरुवात गर्ने दाबि गरेको छ । मञ्चबाटै बक्ताहरुले आन्दोलनका लागि तयार हुन बाढी पीडितहरुलाई भनेका छन् । मुल संघर्ष समितिका उपाध्यक्ष प्रेमसिं सुनारले सरकारले आफूहरुलाई कि पुर्नस्थापना गर्नु पर्ने नत्र भने आफूहरुलाई शिविरबाट हटाउनुपर्ने बताए । उनले ९ महिनासम्म सरकारले व्यवस्थापन गर्ला भनेर चुप बसेको भएपनि अब आफूहरु चुप लागेर नवस्ने जिकिर गरे । आमसभामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले पनि बाढी पीडितहरुको पुनस्थापना र पुर्ननिर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आमसभा मुल समितिका अध्यक्ष खगीराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
बाढी र पहिरोका कारण मध्यपश्चिमाञ्चल क्षेत्रमा करिब १ हजार परिबार अहिले पनि विस्थापित शिबिरमा बस्दै आएका छन् । मंसिरदेखि सरकार तथा संघ संस्थाबाट कुनै सहयोग नपाएको प्रभाबितहरुको गुनासो छ । खाद्यान्न अभाव भए पछि शिबिरमा बस्दै आएका गर्भवति, सुत्केरी र बालबालिकाहरू समस्यामा परेका छन । बाढी प्रभावितहरुका लागि हालसम्म सुर्खेतमा ५ करोड ५८ लाख ९३ हजार बितरण गरिसकेको तथ्याङ्क छ । 
क्याप्सनः आमसभामा जम्मा भएका सुर्खेतका विभिन्न शिविरका बाढी पीडितहरु ।


Monday, February 23, 2015


गोविन्द खत्री
सुर्खेत, १२ फागुन ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) बारे स्थानीय स्थानीय स्तरमा सत्ता पक्षदलका नेता तथा कार्यकर्ताहरु पक्षमा र  विपक्षी दलका नेता कार्यकर्ताहरु विपक्षमा प्रस्तुत भएका छन् ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) बारे विशेषता र जिम्मेवारी विषयमा लगानी बोर्डले सोमबार सुर्खेत सदरमुकाम  वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सभासद् र कार्यकर्ता पक्ष र विपक्षमा प्रस्तुत भएका हुन् । यस अघि आयोजनाका पक्ष र विपक्षमा उभिएका दलका कार्यकर्तादेखि सभासद्हरु आ–आफ्नै पार्टीको धारणा अनुसार प्रस्तुत भए । सुर्खेतका ४, दैलेख २  अछाका १ गरी छलफलमा सहभागी ७ जना सभासद्हरु मध्य कांग्रेस एमालेबाट सभासद् बनेका ६ जना सभासद्हरुले परियोजनाको सम्झौताको पक्षमा धारणा राखेका थिए भने एकीकृत नेकपा माओवादीको कोटाबाट सभासद् बनेकी सीता नेपालीले आफ्नो पार्टीको धारणालाई दोहो¥याइन् । काँग्रेस एमालेका सभासद्हरुले सस्तो र सजिलो हुँदा हुँदै नेपालले बनाउन नसक्ने र अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट बहु राष्ट्रिय कम्पनी जिएमआर लाई दिइएकोले अब कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेपाल सरकारले बनाउनु पथ्र्यो भन्ने कुरामा कसैको दुइ मत रहेन्’ छलफलमा सहभागी मध्यका एक सभासद् दैलेख क्षेत्र नं १ बाट निर्वाचित अम्मर बहादुर थापाले भने,‘नेपालले बनाउने आँट नगरेपछि अन्तराष्ट्रिय टेन्डरबाट सम्झौता भइसक्यो अब राष्ट्रघात भनेर रोकी राख्नु उपयुक्त छैन बरु बढी भन्दा बढी लाभ हुनेगरी कार्यन्वयन अघि बढाउनु पर्छ ।’ छलफलमा सुर्खेतका हृदयराम थानी, तप्तबहादुर बिष्ट, खड्क बिश्वकर्मा, सीता नेपाली, दैलेखका अम्मरबहादुर थापा, लक्ष्मी पोख्रेल र अछाम क्षेत्र नं. २ का भरतबहादुर सावंद सहभागी थिए । पीडिएको बिरोध गर्दै आएका दल मध्य राष्ट्रिय जनमोर्चा नेपाल सुर्खेतका सचिव लालबहादुर नेपालीले परियोजना निर्यातमुखी भएको तथा नेपाललाई लाभ भन्दा घाट बढी भएको तर्क पेश गर्दै अहिलेको पीडिए खारेज गर्नुपर्ने माग गरे । छलफलमा सहभागी मोहन बैध नेतृत्वको नेकपा–माओवादी, नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादी लगायतका कार्यकर्ताहरुले आयोजना कुनै पनि हालतमा कार्यन्वन हुन नदिने जिकिर गरेका छन् ।  साथै छलफलमा सहभागीहरुबाट परियोजनाको पीडिए यथाशक्य सार्बजनिक गर्नुपर्ने माग गरिएको छ ।
परियोजनाको पीडिएको पक्ष र विपक्षमा उभिएपनि आयोजना बनेको खण्डमा प्रभावित जिल्लाले पाउने लाभांस बढाउनुपर्नेमा भने सबै नागरिक तथा सभासद्हरु एक मत भएका छन् ।
छलफलमा सहभागी आयोजना प्रभावित तीन जिल्ला (सुर्खेत, दैलेख र अछाम) का सात जना सभासद् तथा सुर्खेत स्थित राजनैतिक दल र नागरिक समाजले प्रभावित जिल्लाले पाउने लभांस बढाउनुपर्नेमा जोड दिएका हुन् । दैलेख क्षेत्र नं २ बाट निर्वाचित सभासद् लक्ष्मी प्रसाद पोख्रेलले प्रभावित तीन जिल्लाले नेपाल सरकारले पाउने कुल रोयल्टीको ३० प्रतिशत रोयल्टी पाउनुपर्ने माग गरे । उनले २७ प्रशित निशुल्क शेयर मध्ये प्रभावित जिल्लावासीले चाहेको शेयर लिन पाउनुपर्ने र बाँकी शेयर मात्रै अन्य क्षेत्रमा बिक्री गर्नुपर्नेमा जोड दिए । त्यस्तै स्थानीय विद्युतीकरणका लागि निःशुल्क पाउने २ मेगावाट लाई बढाएउन र बढी भन्दा बढी रोयल्टि तथा शेयर प्रभावित जिल्लावासीले पाउनेगरी सरकारसामु एकीकृत रुपमा आवाज उठाउनुपर्ने बताए । सुर्खेत क्षेत्र नं २ बाट निर्वाचित सभासद् हृदयराम थानीले आयोजनाबाट प्रभावित जिल्लाका वासिन्दालाई बढी भन्दा बढी लाभ हुनेगरी अगाढी बढाउनुपर्ने बताए । स्थानीयवासीलाई दिइने भनिएको २ मेगावाट निःशुल्क बिजुली प्रभावित क्षेत्रका जनतालाई घरायशी प्रयोजनका लागि पुग्नेगरी उपलब्ध गराइनुपर्ने बताए । २७ प्रतिशत निशुल्क शेयर मध्ये प्रभावित ३ जिल्लालाई ७ प्रतिशत र बाँकी अन्य जिल्लामा दिनुपर्ने सभासद् थानीले धारणा व्यक्त गरे । आयोजनाबाट प्रभावित र पुनःस्थापना हुने परिवारलाई प्रयाप्त सेवा सुविधा र उनीहरुका माग पूरा गर्न उनले माग गरेका छन् । उनले नेपाल सरकार र कार्यन्वयन कम्पनी जिएम आर बीच भएको सम्झौता दुबै पक्षले इमान्दारीतापूर्वक कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।  अछाम क्षेत्र नं २ का सभासद् भरत सांवदले पनि प्रभावित जिल्लाले पाउने लाभांस बढाउनुपर्नेमा जोड दिएका छन् । निःशुल्क पाउने १०८ मेगावाट विद्युत र २७ प्रतिशत शेयरमा प्रभावित जिल्लालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए । सरकारले पाउने रोयल्टी मध्य प्रभावित जिल्लालाई दिने रोयल्टी बढाउनुपर्ने उनको भनाई छ । दैलेख क्षेत्र नं १ बाट निर्वाचित सभासद् अम्मरबहादुर थापाले पीडिए सम्झौतामा भैसकेकोले अब आयोजनाको पक्ष र विपक्ष भन्दा पनि कसरी स्थानीय जनतालाई बढी भन्दा बढी लाभ हुन्छ भन्ने तरिकाले लाग्नुपर्ने बताए । सुर्खेत क्षेत्र नं ३ बाट निर्वाचित् सभासद् तप्तबहादुर बिष्टले आयोजना निर्माणका क्रममा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकताका साथ रोजगारी दिनुपर्ने बताए । उनले अदक्ष कामदार मात्र नभई आवश्यकता अनुसार कामदारलाई विभिन्न तालिमहरु दिई दक्ष बनाउनुपर्ने उनले माग गरे ।
जिएम आरका प्रतिनिधि डिके सिंहले माथिल्लो कर्णाली आयोजना निर्माणसंगै यहाँको विकास र स्थानीय नागरिकको रोजगारीको अवसर सृजना हुने बताएका छन् । छलफलमा आयोजनाका बारेमा धारणा राख्दै सिंहले आयोजना निर्माणका क्रममा सामान्य अवस्थामा २ देखि ३ हजार अदक्ष कामदारले रोजगारी पाउने बताए । उनले आयोजना प्रभावित क्षेत्रका जनताले पाउने, निशुल्क बिद्युत, शेयर रोयल्टीका साथै उनीहरुको जीवनस्तर उकास्न विभिन्न सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
छलफलका क्रममा लगानी बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले छलफलमा उठेका जिज्ञासाहरु लगानी बोर्डको बैठकमा प्रस्तुत गरिने र सोही अनुसार काम अघि बढाइने बताए ।
कार्यन्वयन कम्पनिले दुई बर्षमा वित्तीय स्रोतको व्यवस्था गर्ने, ५ देखि ८ बर्षभित्र निर्माण कार्य सम्पन्न गरी सन् २०२१ पछि विद्युत उत्पादन सुरु हुने सम्झौतामा उल्लेख छ । परियोजनाबाट नेपालले २७ प्रतिशत निःशुल्क हिस्सा र १२ प्रतिशत निःशुल्क उर्जा पाउनेछ । उक्त परियोजनाबाट १०८ मेगावाट विजुली निःशुल्क पाउने जुन नेपालमा हाल जडीत क्षमताको १५ प्रतिशत हो  ।
परियोजना सञ्चालनबाट कर, दस्तुर, निःशुल्क उर्जा र निःशुल्क हिस्साका आधारमा नेपालका लागि अपेक्षित वित्तीय फाइदा करिव ४ सय ३१ अर्ब हुनेछ । आयोजना सञ्चालनमा आएपछि नेपालले पाउने हिस्साको ५० प्रतिशत राष्ट्रिय ढुकुटी, ३८ प्रतिशत म.प. विकास क्षेत्रमा र १२ प्रतिशत प्रभावित जिल्लाहरु सुर्खेत, अछाम र दैलेखका लागि छुट्याइनेछ । स्थानीय २ हजारबढीले प्रत्यक्ष रुपमा रोजगारी पाउने लगाडी बोर्डको दावि रहेको छ ।
९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न ११६ अर्व लागत लाग्ने जनाइएको छ । आयोजनाका क्रममा ४६.८ हेक्टर नीजि र २३५.७६ हेक्टर सार्वजनिक जग्गा अधिग्रहण गर्नुपर्नेछ । सुर्खेत, दैलेख र अछाम जिल्लाका २ सय ३९ घरपरिवार प्रभावित हुने र ५६ घरपरिवारको पुर्नवास गर्नुपर्ने जनाइएको छ । उक्त परियोजना प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियद्धारा सन् २००८ मा भारतीय कम्पनी जिएमआरलाइ निर्माण जिम्मा दिइएको हो ।

‘खाजा कटाएर प्याड किन्छन् विद्यार्थी’
गोविन्द खत्री
सुर्खेत,  फागुन ।
बाल क्लबमा आबद्ध विद्यार्थीहरुको सक्रियाताले वीरेन्द्रनगर १७ बेलघारीको मक्का मदिना निम्न माध्यमिक विद्यालयमा विद्यार्थीको अनियमितता दर घटेको छ ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बाल क्लब मधिना बाल क्लबले विद्यालयमा विद्यार्थी अनियमित हुनुका कारण पत्ता लगाई विभिन्न अभियान सञ्चालन गरेपछि विद्यार्थी नियमित हुन थालेका हुन् । बाल क्लबका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर मासिक पाँच रुपैँया क्लबमा जम्मा गर्छन, जुन पैंसा महिनावारी हुँदा प्रयोग गरिने प्याड किन्न प्रयोग गर्छन् । बिशेषगरी ६–८ कक्षामा अध्ययनरत बालिकाहरु महिनावारी हुँदा विद्यालय नआउने गरेपछि उनीहरुलाई विद्यालयमा नियमित गराउन प्याड वितरण गर्दै आएको बाल क्लबकी सचिव कमला बि.क.ले बताइन् ।  ‘साथीहरु किन नियमित स्कूल आउँदैनन भनेर खोजी गर्दा विद्यालयमै महिनावारी हुने डरले पनि नआउने गरेको पायौँ’ उनले भनीन्,‘बिशेषगरी बालिकाहरुलाई नियमिति गर्न हामीले पाँच रुपैँया उठाएर प्याड किन्ने गरका छौँ ।’ क्लबमा ३५ जना बालबालिका आबद्ध छन् उनीहरु आफूले उठाएको पैँसाले नपुगेमा विद्यालयसंग पनि सहयोग माग्ने गरेका छन् । प्याड वितरण गरेपछि बालिकाहरु महिनावारी भएको बेला पनि विद्यालय आउनुका साथै बिचैमा कक्षा छोडेर जाने समस्या समेत हटेको उनी बताउँछिन् । क्लबले कक्षामा नियमित गराउने मात्र होइन नियमित नहुने विद्यार्थीका घर घरमा पुगेर अभिभावकसंग भेटेर उनीहरु समस्या बुझ्ने गरेका छन् । क्लब र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले एक महिनासम्म विहान ८ देखि १० बजेको समयमा अन्य विद्यार्थीका घरमा गएर अनियमित हुनेलाई पनिसंगै विद्यालय ल्याउने अभियान सञ्चालन गरे ।  ‘सबै साथीहरु सधैँ किन विद्यालय आउदैनन् भनेर पत्ता लगाउनेक्रममा  हामीले कतै घरमा खान समयमा नपाकाइदिएर हो की भनेर उनीहरुका घरघरमा पनि गयौँ’ बाल क्लबकी सचिव कमलाले भनीन्,‘उनीहरुको घरमा गएर आफैले ड्रेस लगाइदिएर संगै स्कुलपनि ल्यायौँ ।’
बाल क्लबले बीचैमा विद्यालय छोडेर घर बसेका आफ्नो समुदायका बालबालिकाहरुको पहिचान गरी विद्यालय भर्ना पनि गराएको छ । मधिना बाल क्लबले बिचैमा विद्यालय छोडेका छ जनालाई चालु शैक्षिक सत्रमा भर्ना गराएको छ । आश्मा खातुन र सयदा दुई बहीनीले नै गत बर्ष विद्यालय छोडेका थिए । बाल क्लबका विद्यार्थीहरु घरमै गएर उनीहरुलाई विद्यालय भर्ना गराएपछि अहिले सयदा कक्षा ८ र आश्मा छ कक्षामा भर्ना भएका छन् ।  ‘आमाको खुट्टा भाँचिएको थियो घरमा काम गर्ने मान्छे कोही नभएर विद्यालय आउन पाएका थिएनौँ’ आश्माले भनीन्,‘बाल क्लबका साथीहरु गएर बुवालाई भन्नु भयो र कापि किताब, झोला र डे«स पनि दिएपछि पढ्न पाएका छौँ ।’ बाल क्लबको सक्रियताले विद्यालयमा विद्यार्थीको नियमितता बढेको शिक्षिका बिष्णु बडुवालले बताइन् । ‘बाल क्लबका भाई बहिनीको सक्रियताले विद्यार्थी नियमित आउन थालेका छन्’ शिक्षिका बडुवालले भनीन्,‘भाई बहिनीहरु विद्यार्थीका घर घरमा पुग्नुका साथै समुदाय सरसफाइ र विभिन्न जनचेतानामूलक कार्यक्रम समेत गर्ने गरेका छन् ।’
मक्का मदिना मात्रै होइन बिचैमा विद्लय छोड्ने, अनियमितता घटाउन र विद्यार्थी केन्द्रीत शिक्षणका लागि सुर्खेतका विभिन्न गाविसमा बाल क्लब, गाउँ बाल संरक्षण समिति र विद्यालयले संयुक्त अघि बढेका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा स्याक नेपालले सञ्चालन गरेको सुनौलो भविष्यका लागि सिकाई कार्यक्रम अन्तर्गत विद्यालयमा बाल क्लब, गाविसमा गाउँ बाल संरक्षण समिति  र विद्यालयमा शिक्षकहरुको ‘एक्सन लर्निङ गु्रप’ गठन गरीएको छ । कार्यक्रम अन्तर्गत साविकका लाटीकोइली, उत्तरगंगा र मैनतडा तथा सहारे र मैनतडा गाविसमा बाल संरक्षण समिति बाल क्लब र २० वटा विद्यालयमा विभिन्न सहयोग गरिएको कार्यक्रम अधिकृत तेज सोनामले बताए । विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालय भर्ना गराउने र भर्ना भएका विद्यार्थी टिकाइराख्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए । कार्यक्रमले प्रत्येक बाल संरक्षण समितिलाई ५ लाख ३२ हजारको अक्षय कोष स्थापना गरिदिएको छ भने आर्थिक अवस्था कम्जोर भएर विद्यालय छाडेका र अनिमित विद्यार्थीलाई नियमित गराउन छात्रबृति प्रदान गरेको छ । कम्जोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन, नरम सीप तथा जीवन उपयोगी सीप र शिक्षण सामाग्री तथा बाल क्लबलाई विभिन्न कार्यक्रम सञ्चालनका लागि पनि सहयोग गरिएको कार्यक्रम संयोजक सोनामले बताए । साथै अनुगमन मूल्याङकन जवाफदेहिता तथा सीकाई अवधारणा (मिल) ले सिकाइमा थप प्रभावकारीता ल्याएको मेल अधिकृत रेशम चन्दले बताए ।
सुनौलो भविष्यका लागि सिकाई कार्यक्रमले बाल संरक्षण समितिमा अक्षय कोष स्थापना गरिदिएपछि समितिलाई काम गर्न सजिलो भएको साविकको लाटीकोइली (वीनपा १३–१७ वडा ) बाल संरक्षण समितिका अध्यक्ष पद्मा खड्काले बताइन् । समितिले विद्यालय र बाल क्लबसंग मिलेर विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने र नियमिति गराउने काम गरिरहेको उनले बताइन् । मेहलकुना ७ को वडाखोलीको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा  विद्यार्थीको अनियमित दर २० प्रशितबाट घटेर अहिले १४ प्रतिशतमा पुगेको विद्यालयका प्राचार्य ढालबहादुर खत्रीले बताए । खत्रीले शिक्षकहरुलाई  नरम सीप तथा जीवन उपयोगी सीप विद्यार्थीलाई बढी सक्रिय बनाएर पढाउने विधि अपनाएकाले विद्यार्थीहरुले कक्षामा सक्रियतापूर्वक सहभागिता जनाउने गरेको उनले जनाए । जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक बलबरि सुनारले कार्यक्रमले विद्यालय बाहिर रहेका विद्यार्थी भर्ना र भर्ना भएकालाई विद्यालयमा नियमित गराउन महत्वपूर्ण सहयोग गरेको बताए । उनले अहिले सबै बालबालिकालाई विद्यालय भर्ना गराउनु र निरन्तरता दिनु चुनौती भएको बताउँदै यस्ता किसीमका कार्यक्रमले सरकारको उद्देश्यमा सहयोग पुग्ने बताए ।

गोविन्द खत्री
सुर्खेत, फागुन ।
निर्माण सम्पन्न भइ सञ्चालनको लाइनमा रहेको चलचित्र ‘तुफान’ को सुर्खेतमा बिशेष प्रदर्शनी हुने भएको छ ।
आउँदो चैत महिनाको पहिलो शनिबार ७ गते चलचित्र तुफानको विशेष प्रदर्शनी हुने भएको हो । चलचित्र निर्माता यूनिटले वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनागरी बिशेष सो गर्न लागिएको बारे जानकारी दिएको हो । सुर्खेती सञ्चारकर्मी समेत रहेका निर्माता रमेशकुमार पाण्डेले चलचित्रको व्यापार भन्दा पनि प्रचार प्रसारका लागि विशेष सो गर्न लागिएको बताए । चलचित्रका बारेमा जानकारी दिँदै कार्यकारी निर्माता सुर्खेती युवा व्यवासयी कमल खड्का ‘जुनी’ले चलचित्र आउँदो बैशाखमा नयाँ बर्षको अवसर पारेर देशभरिका हलहरुबाट एकैसाथ प्रशारण गरिने बताए । उत्कृष्ट चलचित्र भएको दाबि गर्दै दर्शकहरुले मनपराइदिएर चलचित्रले राम्रै व्यापार गर्ने आशा लिएको उनले बताएका छन् । बासुदेव पोख्रेलले निर्देशन गरेका छन् भने चलचित्र कलाकारहरु राजेश ढुङ्गाना, सन्तोष केसी र कल्पना शाहीको मुख्य भूमका रहेको छ । मामा भान्जाको पट कथा रहेको उक्त चलचित्रमा, हरि उदासीको संगीत रहेको छ । रोशन श्रेष्ठले द्वन्द्व र सुनिल गिरीले नृत्य निर्देशन गरेका छन् । सुमन तन्डुकारले छायांकन गरेका छन् भने प्रज्वलित पराजुलीले चलचित्रको सम्पादन गरेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक जनार्दन चालिसे रहेका छन् । चलचित्रमा केशव  तामाङको पनि लगानी रहेको बताइएको छ । यसै चलचित्रबाट डेब्यु गरेकी सुर्खेतकै नायिकका शाहीले अन्य चलचित्रमा समेत अवसर प्राप्त गरेकी छन् ।
चलचित्र निर्माणमा ३५ लाख खर्च भएको र अब प्रचार प्रसारमा १० लाख जति खर्च हुने अनुमान रहेको निर्माता यूनिटले जनाएको छ ।

Thursday, February 5, 2015


गोविन्दख खत्री
सुर्खेत, २२ माघ ।
स्वदेशमै रोजगारी सृजनागरी युवाहरुलाई उत्पादनमा लगाउने उद्देश्यले सरकारले शुरु गरेको युवा लक्षित कृषि कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाका एक सय ६४ जना युवा किसानले अनुदान प्राप्त गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेत मार्फत तरकारी खेतिमा ६० जना, मौरी पालनमा ४० जना, माछामा ४ जनार  र च्याउ खेतिमा ६० जना युवा किसानले अनुदान प्राप्त गरेका हुन् । तरकारी खेति र च्याउँ खेति गर्ने युवाहरुलाई प्रति व्यक्ति ४०÷४० हजार, मौरी पालन गर्ने युवाहरुका लागि प्रति व्यक्ति १ लाख ८० हजार र माछा पालन गर्ने युवाहरुका लागि प्रति व्यक्ति ५० हजारका दरले अनुदान दिइएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका बरिष्ठ कृषि विकास अधिकृत बिजय गिरीले जानकारी दिए । अनुदानका लागि स्थानीय पत्रिकामा सुचना प्रकाशनपश्चात प्राप्त आवेदनहरुको छनौट गरी अनुदानका लागि सम्झौता गरिएको उनले बताए ।
उनका अनुसार तरकारी खेति गर्ने युवा किसानहरुले स्कीमको कूल लागतको ५० प्रतिशत आफुले लगानी गरी प्रति सिजन ५ रोपनी जग्गामा २ सिजनमा (हिउंदे र बर्षे) तरकारी खेति गनुपर्ने छ भने च्याउ खेति गर्ने किसानहरुले स्कीमको कूल लागतको १० प्रतिशत आफुले लगानी गरी एक पकेट क्षेत्रमा कम्तीमा ८० वटा प्लास्टिक घरमा खेती गर्न क्लष्टरको रुपमा सञ्चालन गरिने, प्रति स्किम कम्तिमा ४ वटा १४×२२ वर्ग फीटका च्याउ घरमा खेती गर्नु पर्ने कार्यविधि अनुसार सम्झौता गरिएको छ ।
 मौरीपालनका लागि छनौट भएका ४० जना युवा किसानहरुसंग बुधबार सम्झौता गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले जनाए । मौरी पालन गर्ने युवा किसानहरुले स्कीमको कूल लागतको १० प्रतिशत लगानी गरी एक क्लष्टरमा कम्तिमा पनि २० जना युवा सम्मिलित भई एक स्थानमा चार सय वटा भन्दा बढि उन्नत मौरी घार राख्ने व्यवस्था गर्नु पर्ने कार्यविधि अनुसार युवाहरुलाई छनौैट गरिएको यादवले जनाए । सम्झौता अनुसार प्रति किसानले कम्तिमा २० गोला मौरी घार राख्नुपर्ने कार्यालयका नायव प्राविधिक सुब्बा प्रम वलीले जानकारी दिए ।
देशको कुल ग्राहस्थ्य उत्पादनको एक तिहाइ भन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र दुइ तिहाइ भन्दा बढी जनसंख्या रोजगारी तथा जिविकोपार्जनका लागि यस क्षेत्रमा निर्भर रहने भएकोले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपुर्ण भुमिका रहेको स्पष्ट छ । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार जति उत्पादनशिल युवाहरु वैदेशिक श्रम बजारमा प्रवेश हुने गरेका छन् ।
युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आय आर्जन वढाउने उद्येश्यले युवा लक्षित कृर्षि व्यवसाय संचालनार्थ प्रतिस्पर्धी रुपमा अनुदान प्रवाह गर्न नेपाल सरकारले युवालक्षित कार्यक्रम सञ्चालन गरेका हो ।
च्याउ र मौरीमा ४८ लाख माछामा २ लाख तथा मौरी पालनमा ७२ लाख रुपैँयागरी सुर्खेतमा जम्मा एक करोड २२ लाख रुपैँया सुर्खेती युवा किसानले अनुदान प्राप्त गरेका छन् ।
स्थानीय मौरी खरिद गर्न पाउनुपर्ने माग
युवा लक्षित कार्यक्रम अन्तर्गत मौरी पालनका लागि छनौट भएका युवा किसानहरुले आफूले चाहेको स्रोत केन्द्रबाट मौरी तथा सामग्री खरिद गर्न पाउनुपर्ने माग गरेका छन् ।
व्यावसायिक किट विकास निर्देशनालयले कार्यक्रम कार्यन्वयन सञ्चालनका लागि स्रोत केन्द्र तोक्दै शिव शक्ति वि कन्सर्न, घोराही दाङबाट मात्रै मौरी तथा मौरी घार खरिद गर्नुपर्ने तोकेपछि छनौट भएका किसानलेहरुले भने आफूले चाहेको ठाउँबाट मौरी तथा घार खरिद गर्न पाउनुपर्ने माग गरेका हुन् । बुधबार अनुदानका लागि सम्झौता गर्न जिल्ला कृषि विकास कार्यालय आएका किसानहरुले सुर्खेत तथा अन्य ठाउँका फर्मबाट पनि खरिद गर्न पाउनुपर्ने माग गरे । नेपाल मौरी पालक महासंघका केन्द्रीय सदस्य तथा आचार्य मौरी फार्म वीरेन्द्रनगरका सञ्चालक प्रेमकुमार आचार्यले दाङबाट खरिद गर्दा ढुवानी महंगो पर्ने तथा सबै किसानहरुले एकै ठाउँबाट खरिद गर्दा भनेको समयमा नपाउने बताउँदै आफूहरुले चाहेको ठाउँबाट खरिद गर्न पाउनुपर्ने माग गरे । संघ सुर्खेतका अध्यक्ष रेशम राना मगरले जिल्ला भित्रैबाट समेत खरिद गर्न पाउने भए स्थानीय व्यवसायीको प्रबद्र्धन हुनुका साथै किसानलाई समेत सहज हुने भएकाले चाहेको ठाउँबाट खरिद गर्न व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
 मौरी पालनको राम्रो संभावना रहेको सुर्खेतलाई मह उत्पादनको पकट क्षेत्रका रुपमा विकास गरिँदै छ ।
क्याप्सन ः जिल्ला कृषि विकास कार्यालयबा अनुदान प्राप्तगरी छिन्चुमा व्यवसायिक तरकारी खेती शुरु गरेकी छिञ्चु ७ की ज्ञानु भुषाल । शिक्षक समेत रहेकी ज्ञानुले तरकारी खेतिबाट बार्षिक दुई लाख आम्दानी गर्छिन् । तस्वीरः गोविन्द खत्री ।


Tuesday, February 3, 2015

गोविन्द खत्री
सुर्खेत, २१ माघ ।
सुर्खेतमा आउँदो फागुनमा ‘राष्ट्रिय पर्यटन, सरसफाइ तथा तथा लघुउद्यम महोत्सव २०७१’ सञ्चालन गरिने भएको छ ।
पर्यटन विकास मञ्च सुर्खेतको आयोजनामा फाल्गुन १८ देखि २६ गतेसम्म जिल्ला विकास समितिको खुल्ला मञ्चमा महोत्वस सञ्चालन हुने भएको हो । सुर्खेत जिल्लालाई पर्यटकीय एवं सरसफाईयुक्त जिल्ला बनाउने र लघुउद्यम केन्द्रको रुपमा विकास गर्न महत्सव आयोजना गर्नुको मुख्य लक्ष्य रहेको आयोजक पर्यटन विकास मञ्चले जनाएको छ । मञ्चका उपाध्यक्ष डिल्लुप्रसाद घिमिरेले सुर्खेत जिल्लामा पर्यटन विकासका लागि  प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग पुर्याउने, जिल्लालाई खुला दिशा मुक्त जिल्ला घोषणा  गर्ने अभियानमा योगदान गर्ने उद्देश्य रहेको बताए । सुर्खेत जिल्लामा सम्भावना भएका कृषि उत्पादन, बजारीकरण  तिनको  प्रवर्धन र प्रचार प्रसारका  सहयोग गर्ने र लघुउद्यमी ब्यवशायीहरुको उत्पादित बस्तुहरुको प्रचार प्रसार र प्रवद्र्धन र वजारीकरणमा सहयोग पुर्याउने पनि महत्सव आयोजनाको उद्देश्य रहेको उपाध्यक्ष घिमिरेले बताए ।
 जिल्लाको पर्यटकीय  गुरुयोजना तथा कार्ययोजना निर्माणको थालनी गर्नुका साथै ऊटको अवलोकन तथा ऊटमा चढी महोत्सव अवलोकन गर्ने व्यवस्था गरिने उनले जानकारी दिए ।  महोत्सवमा सरसफाइ तर्फका गरिने गतिविधिहरुमा सरसफाइ सम्बन्धी सामाग्रीको प्रर्दशनी, जिल्ला स्तरीय स्वास्थय तथा सरसफाई सम्मेलन, खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएका गाविसका असल सिकाइको भिडियो प्रर्दशनी, जनचेतनामूलक कार्यक्रम नाटक, प्रचार, भित्ते लेखन, क्याप, टोली टिशर्ट आयोजना र वितरण र सरसफाईका लागि क्षेत्रीय कार्यशाला आयोजना गरिने उपाध्यक्ष घिमिरेले जानकारी दिए । कृषि तर्फका कार्यक्रमहरुमा कृषि जन्य उत्पादित वस्तुहरुको प्रतियोगितात्मक प्रर्दशनी तथा प्रचार प्रसार, एक गाउँ एक उत्पादन कार्यक्रमको बारेमा सरोकारवाला बीच छलफल तथा प्रर्दशनी, कृषि तथा पशुपालनका लागि  सुर्खेतमा  पकेट क्षेत्रको सम्भावना भएका क्षेत्रको बारेमा स्टल मार्फत प्रचार प्रसार र कृषि क्षेत्रमा  अपनाइएका नयाँ प्रविधिको बारेमा जानकारी दिइने उनले बताए ।
लघु उद्यम तर्फका प्रशर्दनीहरुमा लघुउद्यम क्षेत्रमा  अपनाइएका नयाँ प्रविधिको  प्रर्दशनी र आइसीटि एनसेल को कृषि एप्पस, उत्पादीत वस्तुहरुको स्टल मार्फत प्रचार प्रसार, उत्पादीत वस्तुहरुको विक्रि वितरण लघु उद्यम र साना घरेलु उद्योगका विषयमा अन्तरक्रिया कार्यशाला ( नीतिका बारेमा) सीटिइभिटिई पुर्व प्रशिक्षकहरु वा उद्यमीसंग अन्तरक्रिया उद्यमी र वित्तिय संस्था, (सहकारी, बैक)हरु अन्तरक्रिया गरिने घिमिरेले बताएका छन् ।
महोत्सव जिल्ला र जिल्ला बाहिरका करिव दुई लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड भन्दाबढी आर्थिक कारोवार हुने अनुमान गरिएको मञ्चका अध्यक्ष चिन्तामणि शर्माले बताए । महोत्सव स्थल प्रवेशका लागि विद्यार्थीलाई ४० रुपैँया र अन्य सर्बसाधारणहरुलाई ५० रुपैँयाको टिकट लाग्ने व्यवस्था गरिएको बताइएको छ ।  स्टल बुकिङ्गका लागि न्यूनतम ३ हजार ५ सय देखि २० हजार सम्म रहेको छ । कृषि, नर्सरी, मौरीपालनका लागि ३ हजार ५ सय रहेको छ भने अटो मोवाइल्सको लागि स्टल बुकिङ्ग २० हजार निर्धारण गरिएको आयोजकले जनाएको छ । 


Friday, January 30, 2015

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै ।
सुर्खेत, १५ माघ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सुर्खेत जिल्लालाई अबको ७५ दिन भित्रैमा अर्थात २०७२ बैशाख १ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्नसकिने विश्वास व्यक्त गरेका छन् ।
वास पत्रकार समूह सुर्खेतले जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्व्य समितिको समन्वयमा बिहीबार आयोजना गरेको ‘सरसफाई अभियानका उपलब्धी तथा भावी कार्यनीति’ सम्बन्धी अन्तरक्रिया तथा लेखनबृत्ती कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा सहभागी सरोकारवालाहरुले निर्धारित मितिमै जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अन्तरक्रियकासहभागीले पहिले भएका कमिकमजोरिलाई सच्याएर अगाडि बढेमा अभियान सफल हुने विश्वास व्यक्त गरे । जिल्लाको समग्र सरसफाई अभियान एवं खुला दिसामुक्त घोषणा अभियानका बारेमा जानकारी दिँदै जिल्ला स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं क्षेत्रीय सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आवेद हुसेनले एक महिनायता जिल्लामा अभियानले तिब्रता पाएको अवगत गराउँदै अहिलेको अवस्थामा थप क्रियाशिल भएर लाग्ने हो भने बैशाख १ गतेभित्र जिल्ला खुला दिसामुक्त गर्नसकिने बताए । उनले सुर्खेतको खानेपानी तथा सरसफाईको स्थिति सार्बजनिक गर्दै हुसेनले गरेका कामप्रति सकारात्मक सोच राखेमा कुनैपनि काम असफल नहुने भन्दै सबैलाई सकरात्मक सोचका साथ अघि बढ्न सुझाव दिए । त्यस्तै सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वलीले खुला दिसामुक्त घोषणा गर्न बाँकी गाविस र नगरपालिकामा जारी अभियानको बारेमा जानकारी दिँदै चुनौतीहरुलाई सबै मिलेर सामना गरेमा अभियान सफल हुने विश्वास व्यक्त गरे ।  नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका उपाध्यक्ष एवं वास पत्रकार समूहका निवर्तमान अध्यक्ष दीपक बुढाले जिल्लाको सरसफाई अभियानमा होमिएका अभियान्ताहरुले जोश जाँगरका साथ अघि बढेमा निर्धारित मितिमा जिल्ला खुला दिसामुक्त घोषणा गर्न सकिने बताए । उनले सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं २ का सभापती कमलराज रेग्मीले सरसफाई अभियानलाई सबैले हाम्रो हो भन्ने सोचाई राखेर काम गरेमा बाँकी ७५ दिनमा सुर्खेत खुला दिसामुक्त क्षेत्र घोषणा हुन सक्ने बताए । त्यस्तै नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले सुर्खेतीको शान, इज्जत र  प्रतिष्ठासंग जोडिएको अभियान सफल पार्नु सबैको दायित्व भएको बताए । झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बैशाख १ गते नै जिल्लाई घोषणा गर्न धेरै चुनौती भएकाले क्रियाशिल भएर लाग्नुपर्ने बताए । एस एन भी नेपालका सरसफाई सल्लाहकार लेखबिक्रम शाहले सरसफाई अभियानमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउँदै राजनीतिक दल तथा स्थानीय निकायका विभिन्न समूह,सञ्जालहरुले आफ्नै अभियान ठानेकाले सरसफाई अहिलेको अवस्थामा पुगेको बताउँदै लक्ष्यमा पु¥याउन सबै जागरुक भएर लाग्नुपर्ने बताए । उनले अभियानमा चुनौतीसंगै संभावना पनि भएकाले संभावनाको खोजी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिका का टिका थानीले सुर्खेतलाई स्वच्छ र सुन्दर जिल्ला बनाउने अभिभारा पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताइन् ।
सरसफाई सम्बन्धी कलम चलाउने आठ जनालाई लेखनबृत्ती
कार्यक्रममा जिल्लामा रहेर खानेपानी सरसफाई तथा स्वच्छताका विषयमा कलम चलाउँदै आएका आठ जना पत्रकारहरुलाई लेखनबृत्ती प्रदान गरिएको छ ।
सरसफाई क्षेत्रमा सञ्चार कलम चलाउदै आएका छापा माध्यमका ८ जना पत्रकारलाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को आर्थिक सहयोगमा प्रति व्यक्ति चार हजारका दरले लेखनबृत्ती प्रदान गरिएको हो । लेखनबृत्ती पाउनेहरुमा हाम्रो नयाँ नेपाल दैनिकका खेमराज वली, सुर्खेतपत्र दैनिकका सुनिता पन्त, लोकमञ्च दैनिकका गोविन्दप्रसाद देवकोटा, युगआवान दैनिकका डिलप्रसाद शर्मा, सुर्खेतपहिचान दैनिकका रचना, साझा विसौनी दैनिकका गीता थापा, काँक्रेविहार दैनिकबाट मानबहादुर वली र हाम्रो अखबार दैनिकका मुना हमाल रहेका छन् ।
लेखनवृत्तीका लागि सहयोग गर्ने संस्था एन्फोका सुर्खेत जिल्ला कार्यक्रम संयोजक मोचन भट्टराइले सरसफाई अभियानमा सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउँदै आगामी दिनमा जिल्लाको लक्ष्य पूरा गर्न थप सहयोग पु¥याउन आग्रह गरे । खुला दिसामुक्त घोषणा अभियानका चुनौती मात्र नभई अबसरहरु केलाउँदै समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई सुझाव दिए । कार्यक्रमको समापनअघि बोल्दै वास पत्रकार समूहका संयोजक गाविन्द खत्रीले जिल्लालाई आउँदो ७५ दिनभित्र खुला दिसामुक्त घोषणा गर्न चुनौती  र संभावना पनि उत्तिकै भएकोले सबै सरोकारवाला र्जुमुराउनु पर्नेबेला आएको बताए । कार्यक्रममा सरोकारवालाहरुले गरेका प्रतिबद्धता पूरा गरे नगरेको निगरानीका साथै अभियानलाई सफल पार्न सञ्चारमाध्यमबाट सकरात्मक भूमिका निर्वाह गरी सहयोग गर्ने संयोजक खत्रीले प्रतिबद्धता जनाए ।

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Blog Archive

Followers

Search This Blog

What's The rating For This Template?

Blog Archive