सुर्खेत, १४ भदौ ।
जिल्लाका विभिन्न विद्यालयहरुमा शिविरमा राखिएका विस्थापितहरुलाई अन्यत्र सार्ने काम शुरु भएको छ ।
गत साउन अन्तिम साता आएको बाढी पहिरोबाट विस्थापित भएकाहरुलाई राखिएका ५७ शिविर मध्ये १८ वटा शिविर विद्यालयमा छन् । मावि कृष्णकञ्जमा बसेका विस्थापितहरुले बिहीबार नै शिविर छोडेपछि अब भने १७ विद्यालयहरुमा शिविर छन् । अन्य विद्यालयबाट पनि व्यवस्थापनका लागि अन्त सार्ने तयारी गरिएको छ ।
विस्थापितहरुलाई विद्यालयमा राख्दा ती विद्यालयको पठन–पाठन प्रभावित बनेपछि विस्थापितहरुलाई अन्त सार्न शिक्षा कार्यालय तथा सरोकारवालाहरुले आग्रह गरेका थिए । दुई सातासम्म विद्यालयमा शिविर राख्दा करिब ८ हजार विद्यार्थीको पढाइ प्रभावित भएको जिल्ला शिक्षा कार्यालयको भनाइ छ । घर मात्रै भत्किएर जमिन बाँकी रहेकाहरुलाई आफ्नै जग्गामा पाल हालेर वस्न समितिले पहल गरेको छ । विद्यालयबाट शिविर सारी तत्कालका लागि व्यवस्थापनका लािग लागि बनाइएको उपसमितिले पहल शुरु गरेपनि इत्राम र खोर्केखोलाबाट विस्थापित भएकाहरुले भने सहज रुपमा शिविर छोड्न नमानेको समितिका संयोजक वस्नेतले बताए । पाल हालेर बस्नका लागि कुनै निश्चित ठाउँ हुनुपर्ने उनीहरुको भनाई छ ।
साउनको अन्तिम साता आएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउँमा गरी ४ हजार ५ सय ७२ घरमा क्षति पुगेको जिल्ला प्रशासनको तथ्याङ्क छ । कार्यालयका अनुसार ३ हजार १ घर पूर्ण रुपमा क्षतिग्रत बनेका छन् भने १ हजार ५ सय ८१ घरमा आंशिक रुपमा क्षति पुगेको छ । बाढीबाट घरबास गुमाएका ६ हजार ५ सय ७७ मानिस विस्थापित भएर विभिन्न ठाउँमा आश्रय लिइरहेको छन् भने ३४ जनाको मृत्यु भएको छ भने ९१ जना वेपत्ता भएका छन्, २६ जना घाइते भएको जनाइएको छ । वीरेन्द्रनगर भित्र भएको क्षतिको भने पूर्ण विवरण आएको सहायक प्रजिअ जगतबहादुर वस्नेतले बताए । नगरभित्र ३ सय ९० घरमा पूर्ण तथा १ सय ८८ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए ।
विस्थापितहरुलाई विभिन्न निकाय मार्फत दोस्रा चरणको राहत स्वरुप करिब १४ दिनलाई पुग्ने खाध्यान तथा गैरखाद्य वस्तु त्रिपाल, भाँडा, कपडा लगायत वितरण गरिएको उनले बताए । बिहीबारसम्म ४४ हजार ८ सय ६० किलो, दाल १ हजार ३ सय ३३ किलो, १ हजार ४ सय ६८ किलो सोयाबडी, १ हजार ६ सय ७५ किलो नुन, १ हजार ५ सय २१ पेटि तेल, ३ सय ७६ कार्टुन चाउचाउ, २ सय ६० कार्टुन विस्कुट, २३ प्याकेट औषधी, एक सय किलो आलु र १ सय ७२ पोका दालमोट वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
फोटो क्याप्सन ः इमान्यूल बोर्डिङ स्कूलमा त्रिपाल टांगेर बसेका विस्थापितहरु ।
0 comments:
Post a Comment